सरकारी चरित्रका कारण छाएको निराशा – बलराम तिमल्सिना

पश्चगामी शक्तिहरूको चलखेललाई निस्तेज पार्ने भनेको गणतन्त्रलाई शक्तिसाली बनाएर हो । गणतन्त्रलाई शक्तिसाली बनाउँने भनेको गणतन्त्रमा बहुमत जनताको सहभागितालाई सुनिश्चित गरेर हो ।जव देशका बहुसंख्यक जनताले गणतन्त्रलाई मायाँ गर्न थाल्छन् तव गणतन्त्र विरुध्द हुने चलखेलको निगरानी जनता स्वयमले गर्छन् ।आजजस्तो गणतन्त्रका झड्केला बाउहरूले गरेजस्तो चिन्ता गर्नु पर्दैन। बहुसंख्यक जनताले गणतन्त्रलाई मायाँ गर्ने हुनलाई गणतन्त्रले देशका बहुसंख्यक मान्छेलाई मायाँ गर्नु पर्यो । जव गणतन्त्र पछि पनि हिजोकै चोर , फटाहा, लुच्चा, भ्रष्टचारी,तस्कर, ठेकेदार, दलाल, प्रतिगामी तथा नक्कली गणतन्त्रवादीहरूको हालीमुहाली चल्छ र बहुसंख्यक गरीव तथा सीमान्तकृत समुदाय अझ ठूलो शोषण, विभेद र दमनको शिकार हुन्छन् त्यसपछि गणतन्त्रलाई मायाँ गर्ने तिनै मुठ्ठीभर शासक र तिनका हनुमानहरू मात्र रहन्छन् । तिनीहरू पनि गणतन्त्रलाई यस कारण मायाँ गर्छन् कि गणतन्त्रमा तिनीहरूलाई राज खान्दानको जस्तै सुविधा प्राप्त छ । ती नातावाद-कृपावाद- दलाली र भ्रष्टाचारमा यसरी सिर पुच्छार डुवेका छन् कि तिनलाई जनताको दुखसुख र भविष्यको योजनाको वारेमा सोच्ने फुर्सद नै हुदैन। सत्ता-मैथुनको उत्कर्ष उत्तेजनामा हराएका शासकहरूबाट प्रतिगमन विरुध्द लड्ने अपेक्षा गर्नु केटाकेटी सोच हुन पुग्छ।
जव लामो आन्दोलन र युध्दबाट प्राप्त व्यवस्था र त्यसपछि निर्वाचित सरकारले जन अपेक्षा अनुसार काम गर्दैन वरु जन अपेक्षा विपरितका काम गर्न थाल्छ , त्यसपछि जनतामा गहिरो निराशा र आक्रोश उत्पन्न हुन्छ। आज पश्चगामी शक्तिहरूले आफ्नो चलखेल विद्यमान व्यवस्थाका तिनै दैनिक देखिने कमजोरीलाई मुध्दा बनाएर गरिरहेका छन्। जव पश्चगामी शक्तिहरूले शुशासनको ‘अभियान’चलाउँछन् त्यसपछि राजनीतिक चेतना नभएका या पुरानो तरिकाले सोच्ने जमातमा यी मान्छेहरू पो असल हुन् भन्ने भ्रम पर्छ ।शुशासनको झोलाभित्र के के अदृश्य उद्देश्यहरू छन् भन्ने मेसो नपाएपछि मूलत सहरीया मध्यम बर्गीय तथा पढालेखा युवाहरूलाई त्यस्ता अभियानले तुरुन्तै आकर्षित गर्छ। आज भैरहेको त्यही हो ।
विद्यमान व्यवस्थाका खरावीहरूका विरुध्द जो लड्नु पर्ने हो ती कि त सत्ताकै तर मार्न व्यस्त छन। कति पालो पर्खेर बसेको बलात्कारीजस्तो छटपटाएर बसेका छन् भने कति थुक निलेर किनारामा बसेर हेरेर बसेका छन्। आफूलाई क्रान्तिकारी भन्नेहरू पनि कि त जनताको विशाल पंक्तिलाई स्विकार्य हुने संघर्षको बाटोबाट भड्किएर न शान्तिपूर्ण न सशस्त्र खाले रहस्यमय संघर्षको भूँमरीमा फसेका छन् र वाँकि अरु भाङ खाएको मान्छेजस्तो झोक्राएर घरका दलिन गनेर बसेका छन्। यो अवस्थाको फाइदा पश्चगामीहरूले उठाउँन खोजिरहेका छन् । उनीहरू जनतामा रहेको निराशा र आक्रोशलाई उपयोग गर्दै देशलाई पून मध्ययुगीन अँध्यारो सुरुङ्गभित्र धकेल्न खोजिरहेका छन् । संसारमा प्राय पश्चगमन सैन्य कूबाट आएको इतिहास छ। नेपालमा पनि सत्र साल सैन्य कूबाटै आएको थियो। क्रान्ति र प्रतिक्रान्ति दुवै उसै गरी दोहोरिदैनन् ।

नेपालमा पनि अहिले भैरहेको प्रतिगामी चलखेल नयाँ रुपबाट आउँन खोजेको देखिन्छ। त्यो तरिका भनेको आम प्रतिविद्रोहको तरिका ।शासन सत्ताबाट असंतुष्ट भएका जनतालाई नै सडकमा ओरालेर स्थितिलाई भड्काउँने र त्यसपछि फौजी हस्तक्षेपलाई निमन्त्रणा गर्ने तयारी उनीहरूको हो कि भन्ने देखिन्छ।
अव के गर्ने ?
यस्तोमा स्वभाविक रुपमा प्रश्न उठ्छ कि अव के गर्ने ? पहिलो कुरा सरकारमा रहेकाहरूसँग प्रतिगमनसँग लड्ने नैतिक तागत छ भने उनीहरूले सवैभन्दा पहिले प्रतिगामी शक्तिहरूमाथि गणतान्त्रिक अधिनायकत्व लागू गर्नु पर्छ। विगत छयालिस साल पछि र गणतन्त्र पछि बनेका आयोगहरूले आरोपित गरेकाहरूलाई दण्ड दिन सुरु गर्नु पर्छ ।शासन सत्तालाई जनमैत्री तथा पारदर्शी बनाउँनु पर्छ । भ्रष्टाचारलाई दुश्मन मानेर त्यसका विरुध्द युध्दकै घोषणा गर्नु पर्छ। मजदूर किसान महिला दलित मधेशी मुश्लिम तथा जनजातीहरूलाई अधिकार सम्पन्न बनाएर एउटा विशाल गणतान्त्रिक फौज निर्माण गर्नु पर्छ ।शासन प्रशासनलाई व्यापक हेरफेर गरेर जनताप्रति उत्तरदायी बनाउँनु पर्छ। आफ्नो लागि थुपारेका सेवा सुविधाहरू पच्चिस प्रतिसत भने पनि कटौती गरेर त्यो रकम जनताको सेवामा पठाउँनु पर्छ। जथाभावी कर लाई नियन्त्रण गर्ने , महंगीलाई रोक्ने बजारमाथिको बिचौलियाहरूको नियन्त्रणलाई निस्तेज पार्ने र जनताको जनजीवनमा सहुलियत महसुस हुने केही काम तत्काल थाल्नु पर्छ।यसो भयो भने जनताको निराशा र आक्रोश घट्छ। अविश्वासको वादल फाट्न थाल्छ र विश्वासको पालुवा पलाउँन थाल्ने छ

के वर्तमान सरकारसँग यस्तो अपेक्षा गर्नु उपयुक्त छ ?
देशमा दुईतिहाईको सरकार छ। उसले आफूलाई अझ कम्युनिष्ट पनि हौं भनेर दावी गर्छ। अझ समाजवादमा जाने भनेर मिठा गफ पनि गर्छ। त्यसो हुँदा एक मनले सोच्छ- यो सरकारसँग त्यस प्रकारको अपेक्षा गर्नु वाञ्छनीय नै हुन्छ ।
तर स्थिति कस्तो छ त ?
तर स्थिति कस्तो छ भने- यो सरकार जनताको तर्फबाट गरिने त्यस खाले पूरा गर्न असमर्थ छ।सरकारको नेतृत्व गर्ने अधिकाङ्श नक्कली गणतन्त्रवादी छन् ।ती खुलेआम संगीयता विरोधी छन् ।ती समावेशी सिध्दान्तका कट्टर वैरी हुन। ती जन आन्दोलनको तेजले लत्रेर गणतन्त्रवादी बनेका हुन।ती हिजो माओवादीसँग संझौता गर्नु परेको अप्ठेरोले संघीयतावादी भैदिएका हुन। तिनको आज पनि भूपू राजासँग हार्दिक संवन्ध छ।गणतन्त्रपछि पनि सेना प्रहरी र कर्मचारी तन्त्रको चरित्र हिजोकै छ। सोच परंपरा आदिका कारणले ती शक्तिहरू गणतन्त्रलाई भन्दा निरंकुशतालाई मेल खाने छन्। राज्यको आधारभूत संरचनालाई नचलाई थपक्क गणतन्त्रको टोपी बदलेको हुनाले गणतन्त्र निम्छरो छ।यसले आफ्नो तुजुक देखाउँनै सक्दैन।
त्यसो भए के गर्ने ?
जव सरकार स्वयम् प्रतिगमनसँग लड्न असक्षम छ भने त्यो कार्यभार नागरिकहरूको काँधमा आउँछ ।नागरिक समाज फेरि उठ्नु पर्छ।अर्को जन आन्दोलन फेरि उठ्नु पर्छ। त्यो जन आन्दोलन प्रतिगमनका विरुध्द मात्र उठेर हुँदैन।त्यो जन आन्दोलन आजको लम्फु गणतन्त्रका समेत विरुध्द समाजवादको लागि हुनु पर्छ।विद्यमान व्यवस्थाका पश्चमुखी चरित्र समेतलाई अग्रगामी दिशामा वदलेर त्यसलाई समाजवाद निर्माणमा जोड्ने जन आन्दोलन ( जन विद्रोह समेत) संगठित गरेर मात्रै देशलाई पछाडि फर्कनबाट रोक्न सकिन्छ।
किन भने इतिहास गतिशील हुन्छ।त्यसलाई रोकेर राख्न सकिदैन।रोकेर राख्न खोजियो भने त्यो भड्किएर यदाकदा पछाडि पनि फर्कन्छ। अहिले पनि विद्यमान सरकार स्वयमले संविधानमा उल्लेख गरिएका अधिकारहरू समेत कटौती गरेर
गणतन्त्रको बोनसाइकरण गरिरहेको छ। यस्तोमा इतिहासको गतिलाई जवर्जस्ती रोक्न खोजिएको छ।सरकारको चरित्रको कारणले मजदूर किसान लगायत उत्पीडित जाति क्षेत्र लिङ्ग र समुदाय मात्र होइन देशको मध्ययम बर्ग समेत निराश छ। जसको भरपूर फाइदा पश्चगामीहरूले उठाउँन खोजिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>