‘सरकारविरुद्ध सशक्त जनआन्दोलन गर्नुको बिकल्प छैन ‘

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध सशक्त जनआन्दोलन गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो ठोकुवा गरेका हुन् ।
गजुरेलले सरकार र विप्लववीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’
उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा रहेको भन्दैअहिलेको परिस्थिति ल्याउनको लागि सरकार जिम्मेवार रहेको बताए । उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने,‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’
एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने,‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’ उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति पनि दिए । उनले भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’ गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु