‘सरकारले संविधानलाई कागजी खोस्टामा परिणत गर्‍यो’

२०७४ मंसिर ६ गते, बुधबार

काठमाडौँ , ५ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले मौलिक आधिकारको ठाडो उल्लंघन गरेर संविधानलाई कागजी खोस्टामा परिणत गरेको बताएका छन् । अध्यक्ष चलाउनेले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न ठाउँबाट पत्रकारहरुमाथि भइरहेको धरपकड, मानसिक यातना र गिरफ्तारप्रति आपत्ति जनाउँदै सरकारले संविधानमा व्यवस्था गरिएको मौलिक अधिकारको ठाडो उल्लंधन गरेको बताए ।
आस्थाकै कारण प्रहरीले विभिन्न ठाउँमा आजसम्म ८ जना पत्रकारलाई गिरफ्तार गरेको भन्दै अध्यक्ष चलायनेले गिरफ्तार पत्रकारलाई तत्काल रिहाईको माग समेत गरेका छन् । उनले पहलको लागि मानव अधिकारवादी संघ संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
यसअघि कालिकोटका जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख जगदिशनाथ योगी, प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाही, नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जन, ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेल, जलजला मासिकका सम्पादक खेम थपलियासहित ८ जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
विज्ञप्तिको पूर्णपाठः
रुपन्देहीबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक पत्रकार प्रकाश डुम्रेलाई आज दिउसो रुपन्देहीबाट गिरफ्तार गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनबाटै पत्रकार डुम्रेलाई पक्राउ गरिएको हो । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा लुम्बिनी अञ्चल संयोजक र नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला शाखाका कार्यसमिति सदस्य रहनुभएका पत्रकार डुम्रेको गिरफ्तारी प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी हो ।
त्यसैगरी हिजो सोमबार मात्र कालिकोटबाट प्रकाशित हुने हुने जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख जगदिशनाथ योगीलाई सदरमुकाम मान्ममा रहेको पत्रिकाको कार्यालयबाटै पक्राउ गरिएको छ । सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई पनि केही दिन अघि कार्तिक २९ गते सदरमुकाम मान्मबाटै गिरफ्तार गरिएको थियो । मंसिर ३ गते आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाहीलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको छ ।
काठमाडौंबाट प्रकाशित हुने हाम्रो जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेकोे प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जनलाई किर्तिपुरस्थित घरबाटै पक्राउ गरिएको छ । त्यस्तै ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।
साथै अन्य थुप्रै पत्रकारहरुलाई गिरफ्तार गर्ने प्रयत्न गरिएको सूचना हामीलाई प्राप्त भएको छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने पत्रकारहरुको सूची बनाएर ती पत्रकारका घर, कार्यालय तथा अन्य स्थानमा पनि खोजि गर्ने, पत्रकारका घरपरिवारका अन्य सदस्यलाई सोधपुछ गरेर मानसिक यातना दिने कार्य पनि तीब्र पारेको छ । हामी सरकार र नेपाल प्रहरीका विभिन्न निकायबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको घोर भत्र्सना एवं निन्दा गर्दछौं र पक्राउ गरिएका ८ जना पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं । नेपालको मौजुदा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ । त्यसैगरी कुनै पनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई पनि मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ । तर, वर्तमान सरकार संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको ठाडै उल्लंघन गर्दै संविधानलाई कागजी खोस्टामा सीमित गरिरहेको यसबाट प्रष्ट हुन्छ ।
पत्रकारले लेख्ने समाचारबाट त्रसित भई थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति हामी सम्पूर्ण नेपाल पत्रकार महासंघसहित सम्पूर्ण संघ संस्था, पत्रकार र सञ्चारमाध्यामलाई आवाज उठाउन आग्रह गर्दछु । साथै विना कारण गिरफ्तार गरी जेलमा राखिएका पत्रकारको रिहाई तथा उनीहरुको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगसहितका मानवअधिकारवादी संघ संस्थालाई आग्रह गर्दछौं ।
प्रभात चलाउने
अध्यक्ष
क्रान्तिकारी पत्रकार संगठन नेपाल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु