सरकारलाई गैरराजनीतिक, कायरतापूर्ण र अमानवीय हर्कत नगर्न चेतावनी

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई अन्धाधुन्ध गिरफ्तारी, यातना र हत्या गरेर गैरराजनीतिक, गैरकानुनी, कायरतापूर्ण र अमानवीय हर्कत नगर्न चेतावनी दिएको छ । पार्टीको चेतावनीलाई ध्यान नदिई यस्ता हर्कत जारी राखेमा प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुने पनि नेकपाले जनाएको छ । पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी कपिललाई प्रहरीले गिरफ्तार गरेको सन्दर्भमा ब्युरो इन्चार्ज अरुणले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् । अरुणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. कपिललाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई २०७६ मङ्सिर २० गते उपचारका लागि हेटौँडा गएको बेला अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको हो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फासिवादी हर्कत बढाउँदै लगेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसमेतलाई अमानवीय र गैरकानुनी ढङ्गले दमन गर्ने, गिरफ्तार गर्ने, झूट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ । केपी–प्रचण्डमण्डली सरकारको यसप्रकारको गैरराजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै बिनासर्त ससम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा त्यसविरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैँ हुनुपर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु