समृध्दिको भूत कमरेडको दिलमा – बलराम तिमल्सिना

२०७५ जेष्ठ १० गते, बिहीबार

हिजो आज अचानक
समृध्दिको भूत सवार भएको छ
कमरेडको दिमागमा
त्यसपछि कमरेड बोल्न थाल्नु भएको छ
ट्रम्पकोजस्तै भाषा
कमरेडले अपनाउँन थाल्नु भएको छ
सिजिनपिनको सैली
र कमरेड मोदी पहिरनमा हिड्नु हुन्छ !

हिजो आज कमरेडलाई
धेर हुन थालेको छ मार्क्सवाद
वेकार भएको छ लेनिनवाद
माओवाद त देख्नै हुदैन
यथार्थमा कमरेडलाई
कमरेड शव्द पनि मन पर्दैन
कसैले कमरेडको सट्टा सर भनिदिए
कमरेड मुसुक्क हाँस्नु हुन्छ
कमरेडको दिमागमा अचेल
समृध्दिको भूत सवार भएको छ !

हिजो आज कमरेड
कमरेडजस्तो देखिनु हुन्न
भव्य साहुजी देखिनु हुन्छ
साहु जीहरू पनि हैरान छन अचेल
कमरेडले उछिनेको देखेर !

समृध्दिको भूत चढेदेखि
कमरेडलाई किसान मन पर्न छोडेको छ
मजदुर मन पर्न छोडेको छ
दलित र महिला मान्छे लाग्न छोडेको छ
मधेशीहरू स्वदेशी लाग्न छोडेको छ
कमरेडको उठबस अचेल
बहुराष्ट्रिय कम्पनीसँग हुन्छ !

कमरेडलाई चाहिएको छ
फराकिलो सडक
अग्ला घरहरू
महङ्गा सपिङ्ग कम्प्लेक्स !
त्यसैले कमरेड
धमाधम भत्काइरहनु भएको छ सडक !

हिजो आज कमरेडलाई
पृथ्वी नारायण आदर्श लाग्छ
जङ्ग बहादुर बहादुर लाग्छ
महेन्द्र महान सौन्दर्य चिन्तक
र माधव घिमिरे महान लाग्छ
कृष्ण सेनहरू नामुद आतङ्ककारी
भूत सवार भएपछि अचानक
कमरेड सर्वहाराबाट बदलिनु भएको छ
यौटा धनाढ्य सरकारी कमरेडमा !

प्रतिक्रियाहरु