सपना , समृध्दि र आमा – बलराम तिमल्सिना

२०७५ बैशाख १२ गते, बुधबार

आमा समृध्दि आउँछ हो ?
हो छोरा त्यो आउँछ
हो छोरी त्यो आउँछ
त्यो चुचे रेल चढेर आउँछ
त्यो हवाइजाज चढेर आउँछ
अवको केही वर्षपछि
जरुर समृध्दि आउँछ !

समृध्दि आएपछि
वाँदर कुद्ने भीरमा
रेल कुदेको देख्न पाइन्छ
धान झुल्ने खेतमा
सडक सुतेको देख्न पाइन्छ
चामलको चिन्ता नगर छोरा
समृध्दिले उतैबाट
चामल बोकेर आउँछ !

समृध्दि आएपछि
चिन्ता नगर छोरी
लाली पाउडर लिपिस्टिक
सवै वोकेर ल्याउँछ
चुरा धागो सिंदूर पोते सवै ल्याउँछ
लेहङ्गा सारी पाइन्ट सवै आउँछ
तिमीलाई वेहुलीजस्तै बनाएर समृध्दिले
बजार घुमाउँन लैजान्छ
अझ वम्वै घुमाउँन लैजान्छ
उतै एउटा कोठा खोजेर
वैंस हुन्जेल सित्तैमा पाल्छ
बुढी भएपछि मात्रै फाल्छ
चिन्ता नगर छोरी
समृध्दि सुटुक्क आउँदैन
बाजा बजाएर आउँछ
गाम सहर सजाएर आउँछ !

एताबाट हामी
माटो बेच्ने छौं ढुङ्गा बेच्ने छौं
पानी बेच्ने छौं खानी बेच्ने छौं
महान समृध्दिको स्वागतमा
जवानी बेच्ने छौं
सिङ्गै जिन्दगानी बेच्ने छौं
उताबाट समृध्दिले
चामल दाल नून तेल सवै ल्याउँने छ
पकाएर खान अल्छि लाग्यो भने
पकाएरै पनि ल्याइदिने छ !

भयो खेत जोत्नु पर्दैन
बाली रोप्नु पर्दैन
हामीले हालेको भोट
समृध्दि लिन गएको छ
ऊ समृध्दि लिएर फर्केपछि
पासपोर्ट बनाएर
भिसा लगाएर
हामीहरू तयार भएर बसे हुन्छ !

आउँछ छोरा आउँछ
आउँछ छोरी आउँछ
हाम्रो देशमा समृध्दि
अव झट्टै आउँछ
हामीलाई विश्वभरि डुलाउँन
समृध्दि चुचे रेल बोकेर आउँछ !

समृध्दि आएको केही वर्षपछि
हामी कोही यहाँ हुने छैनौं
देश पनि यहाँ हुने छैन
यहाँ त समृध्दि हुने छ
तिनका दुखी मालिकहरू हुने छन्
हामीहरू त छोडेर यो दुखी देश
बुझाएर झिटिगुन्टा समृध्दिलाई
समृध्दिका केन्द्रहरूतिरै वसाइँ सर्ने छौं
विस्थानको नयाँ घाउ बोकेर

प्रतिक्रियाहरु