सत्तारुढ दलका सांसदहरु क्रूद्ध : मन्त्री र राष्ट्रपति निशानामा

२०७६ असार ४ गते, बुधबार

काठमाडौं, असार ४ । सत्तारुढ दलका सांसदहरु बजेट विनियोजनामा पक्षपात गरिएपछि क्रूद्ध देखिएका छन् । आक्रोशित सांसदहरुले मन्त्रीको राजिनामा समेत मागेका छन् । बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रका योजनामा मात्र पारेपछि उनीहरु संसद बैठकमा आक्रोशित बनेका हुन् । उनीहरुले रातो किताबसमेत फिर्ता गरे ।
नेकपा सांसद लालबहादुर थापा, राजेन्द्रप्रसाद गौतम र सुदन किराँतीले विरोधमा सभामुखमार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता समेत गरे ।
बाजुराबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठको राजीनामा मागे । उनले पूर्वाग्रही भएको, धेरै बजेट आफ्नो जिल्लामै मात्रै विनियोजन गरेको, समानुपातिक विकासको सिद्धान्तको खिल्ली उडाएको र पदीय जिम्मेवारी भुलेर राज्यको वित्तीय स्रोत दुरुपयोग गरको भन्दै महासेठलाई कारबाहीस्वरुप पदमुक्त गर्न माग गरेका हुन् । आफ्ना जिल्लामा विकास निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दा जनप्रतिनिधिसँग हुकुमी शैलीमा प्रस्तुत हुने गरेको आरोपसमेत थापाको छ ।
‘मन्त्रीलाई हेर्नै नहुने भयो । जनताका माग राख्न जाँदा हप्की खानुपर्ने अवस्था छ ।’ उनले थपे, ‘त्यस विषयमा कुरा उठाउँदा पूर्वाग्रही भएर बजेट शून्य बनाइएको छ ।’
आफ्नो जिल्लाका लागि बजेट नै विनियोजन नगरेको भन्दै उनले विनियोजन विधेयक बहिष्कार गरे र भने, ‘यो किताब लिन सक्दिनँ । आफ्नो जिल्लामा योजना नभएको किताब बाजुराली जनतामाझ कसरी लैजानु ?’
मन्त्री महासेठको धनुषा जिल्लामा मात्रै ७९ आयोजना रहेको दावी उनको छ । हिमाली २० जिल्लालाई योजनाशून्य बनाएको आरोप पनि थापाले लगाए ।
उता, भोजपुरका सांसद सुदन किराँतीले बजेटअघि योजना पारिदिन मन्त्रालय चहार्दा जुत्ता फाटेको तर जिल्लाका आयोजनामा बजेट विनियोजन नगर्दा मन फाटेको बताए ।
उनले योजना नभएको किताब बोक्नुको कुनै अर्थ नरहने भन्दै आफु पनि रातो किताब फिर्ता गर्छु भने । भोजपुरलाई विकास योजनाबाट हटाएपनि पनि नेपालको मानचित्रबाट हटाउन नसक्ने चेतावनी उनको थियो ।
बजेट नेतामुखी भएको भन्दै उनले राष्ट्रपति विद्या भण्डारीको एउटै टोलको बाटोका लागि ६ ठाउँमा बजेट छुट्टाइएको दृष्टान्त पेश गरे ।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको नारा भएपनि मन्त्रीले आफ्नो क्षेत्रमा १७ वटा योजना पारेको भन्दै उनको स्तर, योग्यता र अवस्थामाथि प्रश्न उठेको किराँतीले उल्लेख गरे ।
संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमले मन्त्री महासेठको जिल्ला धनुषामा १७ वटा पर्दा आफ्नोमा एउटा पनि नपरेकोमा आपत्ति जनाए ।
‘हामीले पटक–पटक अनुरोध गरेका थियौं,(जिल्लामा एउटा रणनीतिक सडक पार्नुहोस्। तर, महान् मन्त्री हुनुहुन्छ । अवस्था यस्तो आयो।’ गौतमले रोष प्रकट गरे । बजेट पुनर्मूल्यांकन गर्न उनको माग छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु