सगरमाथाको उचाइ नाप्न सुरु

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार मापनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो ।
विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत, जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् ।
सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।
विभागले उचाइ मापनका लागि १२ वटा स्थलगत बिन्दुलाई आधार लिनेछ । जसमध्ये ४ वटा बिन्दुमा पुगेर काम सम्पन्न गर्नेछ । तयारी पूरा भएपछि स्थलगत काम सुरु गर्न हिमपातले समस्या बनाएकाले केही महिना ढिलाइ हुने विभागको भनाइ छ । नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव भएकाले नयाँ प्रविधिका विषयमा समेत दक्ष भइसकेकाले उचाइ मापन चार वर्षभित्र पूरा गर्ने जनाएको छ ।
सन् १८५५ मा सर्वे अफ इन्डियाले नापेको सगरमाथाको उचाइ नापी विभागले यस वर्षदेखि पुनः नाप्न सुरु गरेको हो । सर्भे अफ इन्डियाले एक सय ६२ वर्षअघि नापेकै आधारमा हालसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर (२९ हजार २८ फिट) लाई अहिलेसम्म आधिकारिक मानिँदै आएको छ ।
अहिले देशको आफ्नै नापनक्सासम्बन्धी कानुनी प्रावधान भएकाले सगरमाथाको उचाइ नेपाल सरकारले नै नाप्न लागेको हो । करिब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको मापनमा पहिलो चरणमा दुई करोड रुपैयाँबाट काम सुरु गरिएको छ ।
सगरमाथालगायत ८ हजारभन्दा माथिका ८ वटा र बाँकी चार सय बढी हिमालको पनि सर्भे गर्नु आवश्यक रहेको विभागको भनाइ छ । भारतमा बेलायती शासनका बेला सन १८५५ मा सर्भे अफ इन्डियाको तर्फबाट जर्ज एभरेस्टले सगरमाथाको उचाइ मापन गरेकाले उनकै नाममा सगरमाथाको नाम एभरेस्ट राखिएको थियो ।
चीनले गैरकानुनी रूपमा सगरमाथाको उचाइ मापन गरी ८,८५० मिटर तय गरेको थियो । – अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार