श्रीस्वस्थानी व्रतकथा शुरु

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । आज पौष शुक्ल पूर्णिमा । आजबाट हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए । समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन अनुगमन गर्ने भएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ । साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताए । तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सिसीटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु