शीतलहर प्रभावितलाई राहत

२०७४ पुष २५ गते, मंगलवार

काठमाडौं, २५ पुस । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा रु १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो । मन्त्रालयले सोमबारै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको छ’–गृहसचिव मोहनकृष्ण सापकोटाले भने–‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्बललगायत सामग्री जानेक्रम सुरु भइसकेको छ ।’ मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो । मन्त्रालयले काठमाडौंस्थित मानवीय सहायताकक्ष र सशस्त्र प्रहरी बलको मौज्दातमा रहेका न्यानो कपडा वितरण पनि सोमबारैदेखि सुरु भएको जनाएको छ । मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी ‘सेल्टर’ पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु