शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु !

२०७६ असार २५ गते, बुधबार

काठमाडौं , २५ असार । भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालय मझगाउँमा शिक्षकहरुको कुटपिटबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको उपचारको क्रममा भारतको राजमुर्ति अस्पतालमा गए राति मुत्यु भएको बताइएको छ । शिक्षकको कुटपिटका कारण कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको मुत्यु भए पछि
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले बुधबार विज्ञप्ति निकाली घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर हदैसम्मको कारवाहीको माग गरेका छन् ।
विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले जनाउदै आएका थिए । नौ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए । ‘प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले छोरालाई कुटपिट गरेर घाइते बनाए,’ उनले भने । कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको छ भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए ।
विज्ञप्तिमा अध्यक्ष नरेन्द्र भाटले भनेका छन्, ‘आम विद्यार्थीको प्रिय संगठन हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका, जनतन्त्र लगायत शिक्षा क्षेत्रमा भएका हरेक अन्याय, अत्याचार, हत्याहिंसा, कुटपिट र विकृतिका विरुद्ध सडक वाहकहरुको रुपमा संघर्षरत रहेको यहाँहरुमा सर्वविदितै छ ।’
नरेन्द्र भाटले विज्ञप्तिमा भनेका छन्, ‘कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालय मझगाउँमा शिक्षकहरुको कुटपिटबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको उपचारको क्रममा भारतको राजमुर्ति अस्पतालमा गए राति मुत्यु भएको खवरले दुःखी तुल्याएको छ । मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । एकातिर विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा घोषणा गर्ने अर्कोतर्फ विद्यार्थीहरुमाथि कुटपिट हुने घृणित कार्य तत्काल बन्द गरियोस् । पछिल्लो चरणमा निजी शैक्षिक संस्थाहरुले रटन्ते, घोटन्ते र विभिन्न वहानामा विद्यार्थीलाई कुटपिट गर्ने यातना दिने कुराप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिको अन्त्यमा भाटले भनेका छन्, ‘माहाकाली बाल विद्यालयमा भएको घटनाको सत्यतथ्य छानविन गरी दोसीउपर हदैसम्मको कारवाही तथा पिडित परिवारलाई विद्यालयले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् भनि संगठन जोरदार माग गर्दछ । यदि उक्त घटनालाई कुनै पनि वहानामा काण्डकारी सरकारले अपराधिलाई संरक्षण गर्न खोजेमा हामी काण्डकारी सरकारका विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं । उक्त आन्दोलनबाट निस्किने क्षतिको जिम्मा काण्डकारी सरकारले लिनु पर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु