शाहीद्वयलाई जनअदालतमा उपस्थित हुन आदेश

२०७६ कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् नेपालअन्तर्गत जिल्ला जनपरिषद् अछामले राजनीतिक पूर्वाग्रैहका कारण ज्यानमुद्दामा किटानी जाहेरी दिएका दुईजनालाई छानबिनका लागि पत्र काटेको छ । जनपरिषद् अछामका प्रमुख निरक शाहीले असोज २८ गते पत्र काटी जिल्लाका राजबहादुर र भक्तबहादुर शाहीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन उर्दी गरेका छन् ।
शाहीले जारी गरेको पत्रमा भनिएको छ, ‘२०७६ भदौ १६ गतेका दिन ढकारी गाउँपालिका वडा नं. २ सावामा हरितालिका तीज कार्यक्रमको दिन लोकेन्द्रबहादुर शाहीको दुःखद् निधन भएको विषयलाई लिएर ऐ ऐ बस्ने चक्रबहादुर शाहीको नाति, मानबहादुर शाहीको छोरा राजबहादुर शाही र ऐ ऐ बस्ने रामबहादुर शाहीको नाति पदम शाहीको छोरा भक्तबहादुर शाहीले मृत्युको खास कारण पत्ता नलगाई र सत्यतथ्य छानबिन नगरी राजनीतिक पूर्वाग्रही षड्यन्त्रपूर्ण ढङ्गले निर्दोष व्यक्ति कविन्द्र शाही, तपेन्द्र शाही र राजेश शाहीलाई फसाउने उद्देश्यका साथ झूट्टा मुद्दा लगाएको भनी उक्त निर्दोष भनिएका व्यक्तिले यही मिति ०७६ भदौ २५ गतेका दिन जिल्ला जनपरिषद् अछामको कार्यालयमा दिएको निवेदनअनुसार घटनाको निष्पक्ष, सत्यतथ्य छानबिन गर्नुपर्ने हुँदा तपाई राजबहादुर शाही र भक्तबहादुर शाहीलाई पत्र प्राप्त भएको १५ दिनभित्र जिल्ला जनपरिषद् अछामको कार्यालयमा अनिवार्य उपस्थितिका लागि यो पत्रमार्फत जानकारी गराइन्छ ।’
प्रमुख शाहीको पत्रको अन्त्यमा भनिएको छ, ‘उल्लिखित मितिभित्र उपस्थित नभएको खण्डमा जनपरिषद्को जनअदालतमार्फत आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा जानकारी गराइन्छ ।’

प्रतिक्रियाहरु