वोल विद्रोह – बलराम तिमल्सिना

२०७५ बैशाख २९ गते, शनिबार

वोल विद्रोह ए साथी वोल विद्रोह !
लुकाएर कति राख्छौ खोल विद्रोह !

सपनाको चिहानमाथि कति निदाएर बस्छौ ?
ए हिजोका प्यारा साथी कति झोक्राएर बस्छौ ?
अगुवा नै हगुवा भै बाटो विराएको बेला
आँट गर मेरा साथी अझै कति सोचिबस्छौ ?
वोल विद्रोह…….!

सडकमै जनता छोडी नेता पसे दरवारमा
लुकाएर हामीलाई थाले भित्री घरवारमा
नेतृत्वको मोजमस्ती हाम्रो घाँटी तरवारमा
डाको छोडी रोऊ पैले श्रमिकको यो हारमा
वोल दिद्रोह ……!

उनीहरूले धोका दिने हामी पछि लाग्ने किन ?
गद्दारको हातबाट दया माया माग्ने किन ?
खोल ढोका फोर पर्खाल निस्क साथी मैदानमा
यो धोकाको चर्को मूल्य उठाउँनु छ जीवनमा
वोल विद्रोह…….!

अवसरवादी कायरले जति घुँडा टेकेपनि
हामीलाई रुवाएर भाग्ने बाटो देखे पनि
भोकसँग संघर्षको लडाई सकिएकै छैन
सकिएकै छैन हाम्रो चढाई सकिएकै छैन
वोल विद्रोह…….!

प्रतिक्रियाहरु