विषादीयुक्त तरकारी र खाद्य पदार्थ बिक्रीवितरण गरे कडा कारबाही !

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीले बिना चेकजाँच भारतबाट विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन रोक लगाउने बताएको छ ।सो पार्टीका झापा जिल्ला इन्चार्ज मनिसले सोमबार विज्ञप्तिमार्फत हालसालै मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्नेगरी बिना चेकजाँच भारतबाट विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएकोमा घोर निन्दा तथा भत्र्सना सो कुरा बताएका हुन् । इन्चार्ज मनिसले विज्ञप्तिमा भनेका छन्, ‘देश यतिबेला राजनीतिक हिसाबले सर्वाधिक संकटमा फसिरहेको छ । सरकारमा विदेशी शक्ति केन्द्रहरुले आफ्ना प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माँझमा रहेर क्रान्ति गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्धित गरेको छ । कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनिहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेका छन् । यसको पछिल्लो उदाहरण नेपाली किसान दाजुभाई दिदीबहिनीहरुलाई निरास पार्दै र आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल, तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने क्याफिनयुक्त पेय पदार्थ ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाणसहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुको दबाब थेग्न नसकेर कथित दुई तिहाईको मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ ।’
मनिसले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जिल्ला पार्टी उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको यो आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गर्दछ । साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ । अन्यथा यस सुचनालाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रियाहरु