विश्वकप क्रिकेटको १२ औं संस्करण सुरु हुँदै

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौं, १६ जेठ । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुने छ । घरेलु मैदान दि ओभलमा इंग्ल्यान्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा दक्षिण अफ्रीका पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छ ।
विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागी छन् । यी १० टोलीले राउन्ड रबिन लिगको आधारमा एक आपसमा खेल्ने छन् ।
लिग चरणमा शीर्ष चार स्थान लिने टोली सेमिफाइनलमा पुग्ने छन् । जुलाई १४ तारिखसम्म चल्ने विश्वकप क्रिकेटमा यसपटक आयोजक इंग्लण्डसँगै साविक विजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डीज, न्यजिल्याण्ड र अफ्गानिस्तान सहभागी छन् ।

प्रतिक्रियाहरु