विधेयक फिर्ता नलिए आन्दोलन

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल सिंहदरबारमा आज बसेको बैठकले सरकारले संघीय संसद्मा दर्ता गराएका तीनवटा विधेयक फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । कांग्रेसले संसद्मा दर्ता गरिएका तीनवटा विधेयकप्रति आपत्ति जनाउँदै अविलम्ब फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । विधेयक नेपालको संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल भएको कांग्रेसको ठहर छ । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक संविधानको मर्म र भावनाविपरीत भएकाले यसले लोकतन्त्रलाई खतरा भएको भन्दै भोलिबाटै दबावमूलक कार्यक्रम गर्ने बताए । सरकारले दर्ता गराएका विधेयक मानव अधिकार, प्रेस स्वतन्त्रता र विश्वव्यापी मान्यता विपरित भएको कांग्रेसको ठहर छ ।
प्रमुख सचेतक खाँडले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने बताए । उनले सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको भन्दै सबै राजनीतिक दललाई एक भएर प्रतिबाद गर्न पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रियाहरु