वरिष्ठ साहित्यकार राईको निधन

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौं, २३ फागुन । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको दार्जिलिङस्थित आफ्नै निवासमा मंगलबार साँझ हृदयाघातका कारण निधन भएको छ । भारतको तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रअरी ३ का दिन खरसाङको बालासन खोला नजिकै भएको थियो । राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्‍याएका छन् ।
केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए । उपचारका लागि उनी गतवर्ष काठमाडौंमा समेत आएका थिए । लीला लेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राईको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जना प्रकाशित छन् । नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनको योगदान थियो । २०७२ सालमा राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधीले समेत सम्मान गरेको थियो । राईको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । राईको विहीबार दार्जिलिङमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रियाहरु