क्रान्तिकारी पत्रकार संगठन ललितपुरको अध्यक्षमा श्रेष्ठ

२०७४ फाल्गुन २७ गते, आईतवार

काठमाडौं, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन ललितपुरको दोस्रो जिल्ला सम्मेलनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको सम्मलेनले श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा रामप्रसाद घिमिरे,सचिवमा मिना भट्टराई, सहसचिवमा हुमकला मिश्र, कोषाध्यक्षमा अनिता परियार रहेका छन् ।
त्यस्तै सदस्यमा शोभा रावत, शिव गौतम, विष्णु बस्नेत, समिशा मोते, केशब निरौला, मोहन शतसंकर, विष्णु दोङ तामाङ, सुमन पतुवार, सुनिता श्रेष्ठ असिम सापकोटा, भिम प्रसाद न्यौपाने, सुरेन्द्र थापा र रिमा न्यौपाने छन् ।
आगामी बैशाख १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा संगठनले देशव्यापी संगठन गठन, पुनर्गठन र विस्तार अभियान चलाईरहेको छ ।
ललितपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जनपक्षीय पत्रकारिता यात्रालाई दह्रो गरी पकड्दै आर्थिक मिशनलाई मात्र प्रधान बनाउने मिशन बनाइरहेका कर्पाेटरेट टाइकुन पत्रकारिताका विरुद्ध जुट्नु पर्नेमा जोड दिए । सर्वसाधारण जनताका जीवनसँग जोडिएका समस्या र राज्यले गरेको विभेदका विरुद्ध जनताले जनाएका असहमति वा विरोधलाई कुनै स्थान नदिने तर राजनीतिक शक्ति र आर्थिक शक्तिको गुणगाण गाएर उनीहरुकै वरिपरि रहेर गरिने पत्रकारिता सही पत्रकारिता नभएको उनको भनाई थियो । अध्यक्ष चलाउनेले पत्रकारिता कमजोर जनताको पक्षमा कमजोर जनताकै हतियार बन्नुपर्ने बताए । कुनै कर्पाेर्ट विजनेस हाउसका गतिविधि सर्वसाधारण जनताका लागि कुनै चासो नराख्ने हुँदा त्यही कुरा मात्र पढाउने व्यवसायिक पत्रकारिता काम नहुने उनले बताए ।
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र रावल र नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी बिपिनले पनि आफ्ना भनाई राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, बाबुराम भुषाल, हिम बिष्ट, नेपाल पत्रकार महासंघ ललितपुरका उपाध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य सिर्जना तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु