रुपलाल विश्वकर्मा र उहाँबारेको पुस्तक विमोचनप्रती ! – नारायण शर्मा

२०७६ जेष्ठ २० गते, सोमबार

रुपलाल विश्वकर्माको स्मृती सभामा उहाँका योगदानहरुको समग्र मूल्यांकनस्वरुप विद्वान लेखक डा. राजेन्द्रप्रसाद रेग्मीजीले लेख्नु भएको पुस्तकको विमोचन समेत गरिएको कार्यक्रममा जान अनुकूल नपरेपनी सामाजिक रुपान्तरण अभियानका एक जुझारु अभियन्ता रुपलाल विश्वकर्मा र उहाँका विचार, भावना र कार्यहरुप्रती हार्दिक सम्झना, सम्मान र सलाम अर्पण गर्दछु ! एउटा सुपरिचित र श्रद्धेय व्यक्तित्व र उहाँको जीवन-जगतप्रतिका बुझाइ, भोगाइ, गराइ र भनाइहरुलाई उद्घाटित, सम्मानित र स्थापित गर्ने ध्येयले डा. राजेन्द्रजीले तयार गर्नु भएको खोजअनुसन्धानमूलक यो पुस्तक अवश्य पठनीय र सङ्ग्रहणीय छ !
नेकपा (एकताकेन्द्र) को २०४८ मंसिरमा सम्पन्न एकता महाधिवेशन र त्यसबाट निर्मित केन्द्रीय समितिमा ३ वर्षजति मेरो उहाँसङ्ग परिचय र सहकार्य भए पनि उहाँका विचार र संघर्षका बारेमा म अलि पहिलेदेखी नै थोरै जानकार थिएँ, जस्लेगर्दा उहाँप्रती मेरो लगाव पनि थियो ! त्यसमाथी “सच्चा कम्युनिस्ट पार्टी र नेता-कार्यकर्ताहरु जुझारु हुनुपर्छ र यो जुझ्ने क्रममा पार्टी र आन्दोलन एकताबद्ध हुनुपर्छ । फुटेर होइन जुटेर मात्र प्रतिकृयावादीमाथि विजय गर्न सकिन्छ ” भन्ने विश्वास ममा समेत भएर नै होला उहाँहरुले गरेका जुगेटी-जुटपानी संघर्ष, पूर्तिमघाट money action तथा हाम्रा चार पार्टीबिचको पार्टी एकतापछि त्यो विश्वास श्रद्धामा बदलिदै थियो । त्यसमाथी उहाँ र क. स्वनाम साथीको नेपाली सर्वहारा वर्ग- गरिबदुखी र भोकानाङ्गा जनता-को संगठन र संघर्ष निर्माणप्रतिको बारम्बारको जोडजस्ता कुराहरुले मेरो मनमस्तिष्क भरिएकै थियो ! तर केन्द्रीय समितिको बैठकका बेलामा खासगरी रुपलालजीका विचार र भावनाहरु जसरी गड्गडाउनु पर्ने हो, त्यसो नभएर उहाँ त विचार राख्न पनि भयभीत जस्तो, पीडित-पीडित जस्तो, मुर्झाएको जस्तो लाग्थ्यो ! शायद यस्तो हुनुमा उहाँभित्र रहेका केही गम्भीर असहमती र पीडाहरुले काम गरेका थिए होलान् उहाँमा ! त्यो पीडा पनि क्रान्ती गर्ने भनेर पार्टी एकता गर्ने, तर क्रान्तिको प्रकृया सुरु गर्न पार्टी सुदृढ र अनुशासित बनाउने, ग्रामीण वर्गसंघर्षका कार्यक्रमहरु बनाउने आदिजस्ता कामकार्वाहीहरुका क्रममा वहस गर्दा भएको किचलो, कोचलो र होंडलो देखेर हो वा नेताहरुमा त्यतिबेलै उनीहरुभित्र लुकेर रहेका अवसरवादी र क्यारिरिस्ट चिन्तन-प्रवृत्ति र त्यसका कारण भैरहेका गुटवन्दी, लामबन्दी, सिमेण्टेड माइन्ड र भनाइ र गराइका बीचको अन्तर आदि देखेर-भोगेर हो ! यस्तै-यस्तै मलाई पनि अनुभूत हुन्थ्यो र म पनि त्यति बोल्ने गर्दैनथें, खासगरी कामभन्दा कुरा धेरै गर्ने र त्यसैमा फूर्ती गर्ने कामरेडहरुको सोंच र संस्कार देखेर ! शायद कम्युनिस्ट नेताहरुमा त्ययिबेलै संकेतस्वरुप देखिएका र पछि छर्लङ्ग देखिनसक्ने आज देखिएजस्तै यस्तै गम्भीर विचलन र विकृतिका संकेतजन्य कामकुराहरुबाट वाक्क, दिक्क र हुक्क भएर पछिल्लो चरणमा उहाँ कम्युनिस्ट पार्टी र आन्दोलनबाट अलि टाढै रहने प्रयास गर्नु भयो, जसरी नेपाली काङ्ग्रेस जस्तो प्रजातान्तृक पार्टी र आन्दोलनका संस्थापक मूर्धन्य नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका कतिपय नेताहरु जीवनको उत्तरार्द्धमा पाखा लागेका थिए ! हुनपनी अहिले तिनैमध्येका धेरैजसो सत्ता र भत्ताबाट मत्ताएका हाम्रा कतिपय कामरेडहरुका फूर्तिफार्ती, हालीमुहाली, अहङ्कार र ठुल्याइँ हेर्दा त्यो बुझाइ सही र दूरदृष्टियुक्त नै रहेछ भन्ने देखिन्छ ! लाग्छ, आज रुपलालजी भौतिकरुपमा पनि बांचिरहनु भएको भए यो चालढाल देखेर कि मर्ने कित मार्ने स्थितिमा हुनुहुन्थ्यो होला ! जेहोस्, रुपलालजीप्रती सम्मान र सलामी तथा उहाँबारेको पुस्तक लेखक-प्रकाशक विशेषतः डा.राजेन्द्रजीप्रती बधाई तथा अनुसन्धानमूलक अन्य थप कृतिहरु लेखन-प्रकाशनको लागि हार्दिक शुभकामना !

प्रतिक्रियाहरु