राजतन्त्र पुनस्र्थापनाको उद्देश्य बोकेका भूमिगत गिरोह चिन्ने तरिका – बलराम तिमल्सिना

त्यसो त देशमा राजतन्त्र समर्थक पार्टी नै छ । उसले आफ्नो दस्तावेजमै ‘संवैधानिक राजतन्त्र’ लेखेको छ । देशको लागि त्यो त्यति नयाँ पनि होइन र खतरा पनि होइन । बहुविचारवाला समाजमा साम्यवादीहरू र पुँजीवादीहरू भएजस्तै राजतन्त्रवादीहरू पनि हुनु स्वभाविक कुरा हो । यहाँ चर्चा गर्न खोजिएको कुरा भूमिगत राजतन्त्रवादीहरूको हो । जो रुपमा गणतन्त्रवादी छन् तर सारमा तिनीहरू राजतन्त्र पुनस्र्थापनाको युद्धमै छन् । तिनलाई चिन्ने काइदावारे यहाँ छोटो चर्चा गर्न खोजिएको हो ।
१. पहिलो कुरा अधिकाङ्श राजतन्त्रवादीहरू आजभन्दा हिजो राम्रा दिन थिए भनेर चर्चा गर्छन् । उनीहरूले त्यसो भनेको गणतन्त्र आएपछि भन्दा राजतन्त्र भएको समयमा देशमा असल शासन थियो भन्ने हो । निश्चित रुपमा एकथरि मानिसहरूलाई आजभन्दा हिजो राम्रो थियो । कसलाई थियो त राम्रो ? सामन्त, जमीन्दार, तस्कर, निरङ्कुश शोसक तथा हत्याराहरूलाई हिजो गजव थियो । अझ निर्दलीय कालमा त कसैलाई पार्टी खोल्न समेत नदिएर एक्लै मोज गर्ने पञ्चहरूको ढलिमली थियो । हिजोको सत्तामा ढलिमली गरेकाहरू र तिनका छोराछोरीहरू अहिले पनि हिजोकै दिन आइदिए हुन्थ्यो भनेर ढिपी कसेर लागेका छन् ।
२. भूमिगत गिरोहको अर्को चिनारी भनेको उनीहरूले गणतन्त्रलाई ‘सत्र हजार मान्छे मारेर ल्याएको गणतन्त्र’ भनेर भन्ने गर्छन् । गणतन्त्रवादीहरूले बोल्ने भाषा यो भन्दा फरक हुन्छ । उनीहरू ‘नेपाली जनताको लामो त्याग, तपस्या र नेपाल आमाका हजारौं महान छोराछोरीहरूको वलिदानद्वारा प्राप्त गणतन्त्र’ या यस्तै भाषा प्रयोग गर्छन् । गणतन्त्र ल्याउने आन्दोलनमा जति मानिसहरू मरे ती सबैजसो राजतन्त्रको दमन र अटेरको कारणले मरेका थिए । त्यसैले सोझो कुरा त निरङ्कुश सत्ताले सत्र हजारको रगत पिएर तर्साउँदा पनि जनतालाई रोक्न नसकेर लडेर प्राप्त भएको गणतन्त्र हो । तर भूमिगत गिरोहहरू उल्टो भाषा बोल्छन् ।
३. भूमिगत पुनस्र्थापनावादीहरूको एउटा चिनारी भनेको उनीहरू गणतन्त्र पक्षधर नेता, मन्त्री या सरकारका मान्छेहरूको आलोचना गर्दा राजनीतिक हिसावले कम गर्छन् । उनीहरू तिनीहरूका नाममा एकलख लगाएर बोल्छन् । जस्तो– प्रचण्डे, शेरे यस्तै यस्तै । उनीहरूका आलोचना व्यक्ति केन्द्रित र असहिष्णु हुन्छन् । उनीहरू गणतन्त्रका नेताहरूले कति खाए भनेर फरर भन्छन् । उनीहरू सरकारले के–के राम्रा काम गरे हुने थियो भनेर कैलै भन्दैनन् । राम्रा काम गरे हुने थियो भन्ने उनीहरूको दिमागमै हुँदैन । सकभर खराव काम गरेर बदनाम होऊन र त्यसैमा टेकेर राजतन्त्र पुनस्र्थापनाको तर्कलाई स्थापित गर्न सकियोस भन्ने तिनीहरूको ध्याउन्न हुन्छ ।
४. पुनस्र्थापनावादीहरू उग्र कम्युनिष्ट बिरोधी हुन्छन् । उनीहरू काँग्रेसजस्ता पार्टीहरूलाई तैविसेक सोच्छन् । तर, कम्युनिष्ट भनेपछि यिनीहरूको दिमाग उम्लन थाल्छ । यो देशमा कम्युनिष्ट नजन्मेको भए नाथे काँग्रेस राजाको खुट्टा ढोगेर बसेको हुने थियो भन्ने यिनीहरूको कल्पना हुन्छ । कम्युनिष्टहरूकै करवलले काँग्रेस पनि लतारिएर गणतन्त्रमा ल्याप्चे ठोक्न आइपुगेको हो भन्ने यिनीहरूलाई लागेको छ ।
५. राजतन्त्रवादी गिरोहले अहिलेको सरकारको उग्र आलोचना गरेको – यो सरकार भ्रष्ट र नालायक भयो भनेर कम हो। यो सरकार भ्रष्ट र नालायक त छ छ, त्यो सवैलाई थाहा छ । त्यो भन्दा बढी चैं यो सरकार चलाउनेहरूले बोक्ने गरेको झण्डा र उनीहरूले आपूmलाई कम्युनिष्ट भनेर गर्ने दावी र घमण्ड उनीहरूलाई पचेको छैन । ‘हाम्रा महाराजले आर्जेको मुलुकमा भुइँफुट्टा कम्युनिष्टहरूले शासन गर्ने ?’ उनीहरू प्राय यसरी सोच्छन् ।
६. पुनस्र्थापनावादीहरूको अर्को डाहा भनेको गरीव किसान मजदूरका छोराछोरीहरू, महिलाहरू, दलितहरू, जनजातीहरू मधेशी, थारु र मुस्लिमहरूले सरकार चलाए भन्ने हो ।
राजतन्त्र भनेको निश्चित जातको, निश्चित वंशको पनि निश्चित छोराले चलाउने शासन भएकोले राजावादीहरू सरकार चलाउने भनेको हुने खाने, पढालेखा, धनीमनी र पहुँचवालाहरूले हो भनेर सोच्छन् । अहिले थोरै भने पनि समावेशी र समानुपातिकको कारणले भूइँ तहका मान्छेहरू सरकारका केही स्थानमा आइपुगेको उनीहरूले देखेका छन् । उनीहरूले युगौंसम्म टाउकामा टेकेर राखेकाहरू जव शिर ठाडो पारेर चुनावमा भोट माग्न आँगन–आँगन आउन थाले र केहीले जित्न पनि थाले, जव कल्पनै नगरेको रैतीलाई ‘अध्यक्ष ज्यू नमस्कार !’ भन्नु पर्ने भयो तव उनीहरूको औडाहाले सीमा नाघ्न थाल्यो । आज नागरिकहरूले भोग चलन गरेका सुख, सुविधा, यश आराम र फुर्तीफार्ती हिजो राज परिवार र राजतन्त्रका जुठो पुरोमा हुर्केकाहरूले एकलौटी लटपट्याएका थिए । आज उनीहरू किनारामा बसेस आपूmले हेपेकाहरूले खाए लाएको हेर्नु पर्दा उनीहरूभित्रको कुलिन विचार बेस्सरी घाइते भएको छ । अझ आजका प्रचण्ड, केपीहरू पनि कुनै वेला गरीव कसानकै छोरा भएको र आज उनीहरूले राजा सो सरहकै ऐश्वर्य भोग गरेको र तिनका शाखा सन्तान र आफन्तले जहानियाँ शासनमै जस्तो युवराज युवराजकुमारीको सेवा, सुविधा र अधिकार प्रयोग गरेको देख्दा उनीहरूलाई खप्न गाह्रो परेको छ । लामो समय राजतन्त्रमा हुर्केका रैतीहरूलाई रैतीहरूले राजकीय मोज गरेको देख्नु चानचुने पीडाको कुरा पक्कै होइन ।
७. पुनस्र्थापनावादीहरूको प्रहारको निशानामा मूलत जनयुद्धबाट आउनेहरू छन् । ‘१७ हजार मारेर ल्याएको गणतन्त्र’ भन्ने कुराको निशाना अन्त जाँदैन। माओवादीले जनयुद्ध सुरु नगरेको भए राजतन्त्र पक्कै ढल्दैनथ्यो भनेर उनीहरू सोच्छन् । आज प्रचण्ड विचलित भएर संसदवादको आहालमा पौडी खेल्न पुगेका भए पनि प्रचण्डको विद्रोही विगतसँग उनीहरूको गहिरो क्षोभ छ । त्यसैले प्रचण्डको सिद्धान्तच्युत एक थान शरीरलाई भने पनि हेगमा लगेर झुण्ड्याउन पाए हुन्थ्यो भनेर उनीहरू मनमनै कल्पना गर्छन् ।
८. उनीहरू संघीयताका पनि कट्टर शत्रु हुन् । त्यसो त संघीयता विरोधीहरू अरु पनि छन् । तर, अरुको विरोध र तिनीहरूको विरोधमा आकास र जमिनको फरक छ । उनीहरूको सोचमा उनीहरूका बाजे महाराजले अनेक षडयन्त्र र रक्तपातबाट जोडेको देशको नक्शा भुइँफुट्टाहरूले आपूmखुसी बिगारे भन्ने हो । पछि हजुरबा महाराज महेन्द्रले वनाएको चौध अञ्चल र पचहत्तर जिल्ला अनि बाबा महाराजले विकास गरेको पाँच विकास क्षेत्रलाई मासेर कताको प्रदेश र के के बनाएर तिघ्रे, खर्पने, डोके, लाहुरे, मधेशका देशीहरूलाई राजकाज चलाउँने ठाउँमा हुले भनेर तिनीहरू मुर्मुरिएका छन् । अहिले ‘जातको आधारमा होइन बर्गको आधारमा अधिकार दिनु पर्छ’ भन्ने प्रस्थापना पनि तिनीहरूले नै जन्माएका हुन् । पछि थाहा नपाएर अरुले सापटी चलाएका मात्रै हुन ।
९. पुनस्र्थापनावादीहरूको अर्को चिनारी भनेको तिनीहरू हिन्दू धर्म शङ्कटमा प¥यो भनेर बढी हल्ला गर्छन् । इशाईहरूले देश खान आँटे भनेर तर्साउँछन् । धर्म परिवर्तन कुनै गतिलो कुरा होइन । तर हिजो राजतन्त्रको एउटा सहारा हिन्दू धर्म पनि भएकोले अघि अघि धर्मको ध्वजा बोकेर, गाईको पूजा गर्दै हिँडियो भने पुनस्र्थापनाको काम गर्न सजिलो हुन्छ भन्ने उनीहरूले बुझेका छन् । त्यसैले उनीहरू, हिन्दू धर्म, गाई, राजा आदिलाई सँगै जोडेर केही गर्न सकिन्छ कि भनेर लागेका छन् ।
१०. पुनस्र्थापनावादीहरूको पछिल्लो उपक्रम भनेको भ्रष्टाचारको चर्को विरोध हो । हिजो पनि भ्रष्टाचार हुन्थ्यो तर त्यति वेलाको मूल्यको आधारमा त्यो थोरै देखिन्थ्यो । त्यो समय आज जस्तो सूचना संचारको विकास थिएन । आज जस्तो सर्वसाधारणको पहुँच थिएन र अभिव्यक्तिको लागि असाधारण छुट थिएन ।त्यसैले हिजो हुने भ्रष्टाचार भूमिगत थियो। आज खुला समाज छ । सूचना प्रविधीको विकासले हरेक सचेत नागरिक पत्रकार पनि बनेको छ । आज एउटा कुनै घटना पाँच मिनेटभित्र देशव्यापी बन्न सक्ने समय छ । त्यसैले जति छोपे पनि शासन सत्ताका धेरै कुराहरू खुल्ला खाले गोप्य बनेका छन् । त्यसैले दिनहुँ हामी भ्रष्टाचारका घटनाहरू सुनिरहन्छौ ।
त्यसमाथि लामो युद्ध या आन्दोलनबाट आएकाहरूले पुरानो भ्रष्ट राज्य संयन्त्रसँग त्यसलाई बदल्न लड्ने होइन बरु आपूmलाई पनि हतार हतार धनी बनाउँने मोहमा भ्रष्ट प्रशासनसँग मिलेर आपूmलाई पनि भ्रष्ट बनाए । सिंहदरवारदेखि गाउँ, नगरका प्रमुखसम्मको प्राथमिकतामा देश र जनता होइन आपूm र आफ्नो परिवार पर्न थाल्यो । जसले गर्दा पुनस्र्थापनावादीहरूलाई षड्यन्त्र गर्न र मध्यम बर्गीय युवाहरूलाई आफ्नो पक्षमा तान्न सजिलो भयो ।
अन्तमा ः आज पुनस्र्थापनावादीहरूको उद्देश्य भ्रष्टाचार लगायतको विरोध गरेर योभन्दा सुख र सुशासनको दिन ल्याउनु होइन, बरु यी कुराहरूलाई एजेण्डा बनाएर मरिसकेको शासन व्यवस्थालाई फर्काउनु र जनताले बोल्न समेत नपाइने मध्ययुगीन शासन लागू गर्नु हो । उनीहरूले भाकल गरेको युग आयो भने भोलि गणतन्त्रवादीहरूले आज उनीहरूले जसरी बोल्न र सभा सम्मेलन गर्दै हिड्न त परै जाओस् वरु गणतन्त्रवादी भएको आरोपमा मुद्दा खेप्ने, जेल जाने र मारिनु पर्ने हुन सक्छ । त्यसैले हरेक अग्रगामी बिचार बोक्नेहरूले यस्ता विषयमा सचेत हुनै पर्छ ।
वर्तमान सरकार दुई जिब्रे, लुच्चो र नलायक छ । त्यो हनुमानहरूभन्दा बाहेक सवैलाई थाहा छ । वर्तमान व्यवस्था (पुँजीवादी गणतन्त्र) ठग जाली भ्रष्ट र तस्करहरूको मुठ्ठीको माखो भएको छ । यो पनि धेरैलाई थाहा छ । त्यसो भनेर कुनै पनि इमान्दार र सद्धे दिमाग भएको मान्छेले योभन्दा राजतन्त्र ठीक भन्दैन । कसैले त्यसो भन्छ भने कि त ऊ अज्ञानी हो कि त सिधै फटाहा हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>