राष्ट्रियता र समाजवादको उल्टो यात्रा – विष्णु पन्त

समयको क्रममा केपी ओली र पुष्पकमल दाहलबीच एकता र सहकार्य भयो । एमाले र माओवादीबीच मर्जिङ भयो । मालेमावादको व्यानरलाई बहुदलीय जनवादमा समाहित गरियो । संसारलाई लाग्दो हो, नेपालमा अनौंठा र आश्चर्यजनक घटनाहरु घट्छन् । संसारलाई बदल्ने र शताब्दीकै युगान्तकारी परिवर्तन गर्न हिँडेको शक्ति माओवादी फटेर टुक्राटुक्रा हुने अनि फेरि वदलामा संसदवादी कम्युनिष्टहरु एक हुने । आखिर कसको के लाग्दोरहेछ र ? माओ, लेनिन वन्ने बाटो छाडेर माधव नेपाल, शेरवहादुर देउवा र सूर्यबहादुर थापा वन्ने वाटो रोजेपछि ? हाम्रो नेपालको विडम्वना नै यस्तै भयो कि राजनीतिको व्यापार गर्ने, बिचारको व्यापार गर्ने, क्रान्तिको व्यापार गर्ने । हुन त हाम्रा नेताहरुको चट्की हामीले लाइभ देखेकै हो, राईकोमा जाँदा म राईको छोरा हुँ भन्ने बाहुन, मगर, तामाङ, किरात, मधेसी जता गयो, त्यही हँु भन्ने । यो एउटा मान्छेलाई फसाउने, झुकाउने र मोहित गराउने व्यापार थियो । शायद यो कालो बजार थियो । हुँदाहुँदा यो कालो बजार क्रान्ति र गणतन्त्रमा पनि गरियो । केही परिवर्तन भएको छैन, एउटा ज्ञानेन्द्रको रित्तो दरवारलाई देखाएर क्रान्ति सम्पन्न भयो भनियो । देशमा जनताको गणतन्त्र आयो भनियो । देशैभरि शहर, गाउँ, गल्ली–गल्ली र टोल–टोलमा दीपावली गर्न लगाईयो । कहिलेकहीँ जनताहरु जादूका दृश्यहरुलाई सही ठानेर ताली वजाउने भ्रममा पर्छन् । घटनाहरु संझिदा अचम्म लाग्छ, प्रधानमन्त्री के.पी. ओलीले अघिल्लो प्रधानमन्त्री कालमा राष्ट्रियताको नाटक मंचन गरे । भारतले लगाएको नाकाबन्दीको विरोधमा के.पी. ओलीले प्रतिकार गर्लान् जस्तो भ्रम छायांकन गरियो । त्यति मात्र होइन, चीनसँगको व्यापार सम्झौताहरु गरेर भारतीय हस्तक्षेपलाई परास्त गरिएला कि जस्तो संप्रेषण गरियो । नेपाली जनताहरुलाई पनि लाग्यो मर्ने वेलामा के.पी. ओलीले राष्ट्रवादी वन्ने आँट गरे क्यारे जस्तो भान भयो । तर, यो एउटा चुनावी रणनीति मात्र रहेछ भन्ने कुरा त्यतिबेला पुष्टि भयो जतिबेला चुनाव जितेर के.पी. ओली पुनः प्रधानमन्त्री भए । के.पी. ओली नाटकको प्रारम्भमा राम्रो राष्ट्रवादी देखिए । त्यसपछि अन्त्यमा फेरि वहुमतको सरकार बन्यो मध्यान्तरमा चुनाव भयो र चुनावमा फेरि बाम एकताको हौवा पिटाई के.पी. ओलीको नेतृत्वमा चुनाव जितियो भन्ने नाटकको अन्त्य साँच्चीकै दुःखद, वियोगान्त थियो अर्थात के.पि. र पिकेबीच एकता भयो, के.पी. र मोदीबीच अँगालो मारियो । त्यति मात्र हैन भएभरका नदीनाला उपहार लगियो । अरुण तेश्र्रो भारतलाई बुझाइयो, कोशी वाँधको नौटंकी रचेर त्यो पनि बुझाइयो । अर्कोतिर नाटकको अन्त्य भीषण गृहयुद्धतर्फ धकेलिने संकेत देखापर्दै छ । एकातर्फ वाम गठ वा ओली गठबन्धन संसदमा दुई तिहाईको दिग्भ्रमबाट यति धेरै उन्मत्त भएको छ कि उसले अरुलाई केही जस्तो पनि ठानेको छैन । ऊ नाङ्गो ढंगले दमन, धरपकड र निषेधको बाटो रोज्दै छ । उसले कानुनको दुहाई दिँदै फासीवादमा आपूmलाई पतन गराउँदै छ । हामीलाई थाहा छ, नेपालमा ३ वटा शक्तिको टक्कर छ ः पहिलो हो संसदवादी शक्ति, दोश्रो हो क्रान्तिकारी शक्ति र तेश्र्रो हो नेपाली सेना अनि राष्ट्रवादी शक्ति । दुई तिहाइको नाममा संसदवादी शक्ति भित्र एमालेको हालीमुहाली भएको छ र त्यहाँ भित्र उ सुदृढ भएको छ । नेपाली सेना मौन अवस्थामा छ । भित्रभित्रै अनेक खेल र षड्यन्त्रहरु भइरहेका छन् । ज्ञानेन्द्र र केपी ओलीबीच पनि मर्जिङ्ग हुने संकेतहरु देख्न सकिन्छ । अब रह्यो क्रान्तिकारी र सच्चा राष्ट्रवादी शक्तिहरुको भूमिका । यसो हेर्दा तस्बीर यही बोल्छ कि केपी ओलीलाई टक्कर दिने अब विप्लव मात्र छन् । विप्लव, किरण र अन्य राष्ट्रवादी शक्तिहरु समयमै ध्रुवीकृत हुन जरुरी छ । सरकार खासगरी विप्लवलाई सिध्याउने रणनीतिमा लागेको सहजै बुझ्न सकिन्छ । विप्लवको नारालाई आपूmले भट्याएर राजनीतिक रुपमा उनको लोकप्रियतालाई कमजोर बनाउने पहिलो रणनीतिअनुसार उनीहरुले एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै राखेका छन् । दोश्रो, उनीहरुले राष्ट्रियताको फोस्रो नारा लगाइरहेका छन् र तेस्रो उनीहरुले समाजवाद उन्मुख अर्थतन्त्र वा समाजवादको नारालाई भट्याइरहेका छन् । चौथो कुरा उनीहरुले विप्लवलाई नै भौतिक रुपमा सिध्याउन खोजिरहेका छन् । सारा संसारलाई थाहा छ कि विप्लवलाई प्रचण्ड बनाउन कदापि सकिंदैन । यो कथित दुई तिहाईको सरकार विप्लवको लागि केही पनि लागेको छैन । सत्ताको अहंकार र फासीवाद माथिको प्रतिरोधबाटै दलाल सत्ताको अन्त्य हुने उनको निष्कर्ष रहेको छ । अहिले सत्ता र विद्रोही दुवै आ–आफ्नै तयारीमा छन् । हामीलाई थाहा छ पहिलो फायर त सत्ताले नै खोल्छ र प्रतिरोध विद्रोहीले नै गर्छ । यदि त्यस्तो भयो भने लडाईं स्थानीय सत्तामा बढी केन्द्रित हुने छ शुरुमा । स्थानीय सत्ताहरुमा भागदौड मच्चिने र दोहोरो सत्ता वा समानान्तर सत्ताहरुबीच ठूलो उथलपुथल आउने संभावना प्रबल छ ।
उता केपी ओलीको राष्ट्रवाद पुरै नाङ्गिएको छ र यो एउटा हाँसोको विषय बनेको छ । उनीहरुको दुई तिहाईको गठजोड पनि हाँस्न लायक विषय छ । अब नेपाली कांग्रेस र राजपासँग मात्र एकता गर्न बाँकी छ । सानातिना बाम शक्तिहरु अनि राष्ट्रवादी शक्तिहरुसँग होइन कि पूरै आफैँले दक्षिणपन्थी भनिएका शक्तिहरुसँगको सहबाश र हनिमुनले उनीहरुको दिशा प्रष्ट गर्दछ । सरकार कति बलियो खुट्टाले हिँडेको छ भन्ने कुरा सबैले देखेका छन् । के पुगेन र उनीहरु छटपटिएका छन् त भन्ने प्रश्नले सबैलाई छोएकै छ । सरकारले बजेट र नीति तथा कार्यक्रमलाई सपनाहरु सेल गर्ने साधनको रुपमा माग प्रयोग गरेको छ । बजेटबाट लोकप्रिय हुने सपना देखे पनि सर्वत्र उल्टो अलोकप्रिय बनेको छ । हुँदाहुँदा बृद्धाबृद्धा र कर्मचारीसमेत सरकारबाट रुष्ट बन्ने अवस्था आउँदै छ । पार्टी एकता पछि त्यहाँ भित्रका असन्तुष्टि भित्रभित्रै भुसको आगो जस्तै विस्फोटक बन्दै छ । कतिपय विश्लेषकहरुले भने जस्तै मान्छेहरु त्यहाँभित्र रुन र गुनासो गर्न पनि पाएका छैनन् । रोए पनि डण्डा लाग्ने वा हुत्ताइदिने नोकरशाही शासन व्याप्त भएको छ । एक हिसाबले मशानघाटको शान्ति कायम भएको छ । तर, यो धेरै समय टिक्न सक्दैन र यसले सरकारलाई अनि पार्टीलाई कमजोर बनाउने छ ।
गठबन्धनको अर्को नारा छ समाजवाद । मुठ्ठीभरका मान्छेहरुको लुटको स्वर्गलाई किमार्थ समाजवाद मान्न सकिंदैन । भ्रष्टहरु र दलालहरुको वैभव वा समृद्धिलाई समाजवाद भन्न सकिंदैन । निजीकरण र उदारीकरणबाट समाजवाद ल्याउँछु भन्ने नारालाई के जनताले पत्याउलान र ? सांसदहरुलाई बजेट चाहिने मन्त्रीहरुलाई चाहिने, नेताहरुलाई चाहिने, के यो कमिशन खोरको मनोविज्ञानबाट समाजवाद आउन सक्छ ? वर्तमान सरकारले ल्याउन चाहेको समाजवादी संरचनाको चरित्र हेरौं त–
पहिलो छ ः माफियाहरुको समाजवाद उदाहरणको लागि भू–माफिया, जल–माफिया, जंगल माफिया । दोस्रो चरीत्र छ ः भ्रष्टहरुको समाजवाद – जसले धेरै भ्रष्टचार ग¥यो उसको सत्ता हावी हुने । तेश्रो चरित्र छ ः तस्करहरुको समाजवाद, सुन तस्कर– नेता, मन्त्री, सांसददेखि प्रहरी, कर्मचारी सबैको मिलेमतोमा ल्याइने समाजवाद । चौथो चरित्र छ ः कालो बजारियाहरुको समाजवाद ः जसले नाफाको लागि जे पनि गर्न छुट हुने । पाँचो र सर्वत्र लागू हुने चरित्र छ ः दलालहरुको समाजवाद । सर्वत्र दलालहरुको सत्ता छ । दलाल भएन भने यो समाजमा बाँच्ने गाह्रो भएको छ । नेता, मन्त्रीहरु केवल कमाउने धन्दामा व्यस्त छन् । यी अरबौं र खरबौंका नबधनाड्यहरुद्वारा ल्याउने समाजवाद कस्तो होला ? निजी सम्पत्तिप्रतिको चरममोह, कालो धनप्रतिको अनुराग रहँदासम्म त्यहाँबाट के जन्मिएला ? समाजवाद उन्मुख अर्थतन्त्र भनेर जनतालाई नढाँट्ने हो भने पहिलो केपी ओली र प्रचण्डको सम्पत्तिलाई राष्ट्रीयकरण गर । मन्त्री र नेताहरुको अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर । सबै नेपालीहरुको विगत पचास वर्षदेखिको सम्पत्ति विवरणको रेकर्ड राख । सबैको सम्पत्ति विवरणको रेकर्ड राख । राष्ट्रिय कलकारखाना वा उद्योगहरुको योजना विना समाजवाद उन्मुख अर्थतन्त्र भन्न मिल्छ ? नदीनाला भारतलाई बेचेर समाजवाद आउँछ ? भूमिसुधार नगरी के कृषिको विकास हुन्छ ? भूमिमाथिको निजी स्वामित्वको अन्त्य नगरी के समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुन सक्छ ? कम्युनहरुको विकास गर्ने योजना कहाँ छ ? राष्ट्रिय पुँजीपति वर्गलाई निषेध गर्दै दलाल पुँजीवादलाई स्थापित गरेर समाजवाद आउँछ ? युवाहरुलाई पुरै विदेश पलायन गराउने ग्राण्ड डिजाइनबाट समाजवाद आउँछ ? सुकुम्बासी, किसान र मजदुरलाई नागरिक पनि नठान्ने सरकारबाट समाजवाद संभव छ ? मध्यम वर्गलाई आत्महत्या गर्न बाध्य बनाउने कार्यक्रमबाट कस्तो समाजवाद आउला ? त्यसकारण यहाँ फेरि समाजवादको कालो व्यापार शुरु भएको छ ।
जसरी हिजो भारतीय हस्तक्षेपको विरोध गरेजस्तो गरेर राष्ट्रियताको कालो व्यापार गरी चुनाव जितियो, त्यसैगरी समाजवादको हौवा पिट्ने काम शुरु भएको छ । आज राष्ट्रवादीहरु विभिन्न वहानामा जेल हाल्ने षड्यन्त्र हुँदै छ । मेनपावर व्यावसायीहरुको आन्दोलनमा यातायात व्यावसायीहरुको आन्दोलनमा पार्टी समर्थक र विरोधीहरुको आधारमा समात्ने वा संरक्षण दिने दोहोरो नीति देखिएको छ । सरकारको विरोध गर्ने अनि भ्रष्टचारको विरोध गर्न पत्रकारहरुलाई फसाउने षड्यन्त्रहरु गरिँदै छ । सारमा राज्य सबैतिर दलालहरु मात्र खडा गर्ने र विरोधीहरुलाई टिक्नै नदिने षड्यन्त्रमा छ । के यसबाट विधिको शासनको विकास हुन संभव छ ? के केही सस्तो लोकप्रियताको लागि गरिने इन्काउन्टरबाट विधिको शासन संभव छ ? गुण्डाहरुको अन्त्य गर्ने हौवा पिटिएको छ, के त्यसो भए वाईसिएल र युवा संघ भित्रका गुण्डाहरु पनि इन्काउन्टरमा पर्छन् त ?
सरकार दुई तिहाईको छ रे, तर धन्न बालकृष्ण ढुङ्गेललाई सजाय माफी गर्न सफल भएको छ । अदालतले अन्तरिम आदेश नदिएकाले मात्र दुई तिहाईको सरकार उनलाई रिहा गर्न सफल भएको छ । थाहा छैन यो खोक्रो दुई तिहाईले के–के गर्न सक्ने हुन् ? कम्तीमा एक दुईवटा त्यस्ता साहसिक कदम हेर्न पाए हुन्थ्यो । सरकारलाई के लागेको छ भने विरोध गर्नेलाई जेल हाल्न साथ सफल हुन सकिन्छ । सर्वत्र सरकारी आतंक सृजना गरिँदै छ । दमन, धरपकड र इन्काउन्टरबाट समाजवाद आउँछ र ?
पार्टी एकता पछि नाम राख्ने विषयमा पनि त्यस्तै नौटंकी देखाइएको छ । शुरुमा नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय आयो । त्यो नाम पार्टी निर्वाचन आयोगमा दर्ता भएको उनीहरुलाई थाहा नभई त्यसो गरिएको थिएन । पछि निर्वाचन आयोगलाई झुक्याउन लागि अण्डरलाइन राखियो र फेरि आयोगले नमानेका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने रे । के यो लाजमर्दो विषय हैन ? नैतिकता भएको भए अरुले पहिले नै राखेको नाम राख्न जरुरी थिए । बरु नेकपा (सूर्य) राखेको भए हुन्थ्यो कि ? सारमा भन्दा बाम गठबन्धन वा केपी ओलीका सरकार सोझासिधा नेपाली जनतालाई के भ्रम पार्न खोज्दै छ भने यो इतिहासकै बलियो सरकार हो र यसले गर्न नसक्ने केही छैन रे ! त्यो त बालकृष्ण ढुङ्गेल प्रकरणबाट झण्डै–झण्डै फुस्किएको थियो । यो केवल झुट र भ्रमको खेतीमा टहल्लिएको छ । भारत विरोधी भन्दै भारतसँगै आत्मसर्मपण, समाजवाद भन्दै दलाल पुँजीवादकै निर्माण, राष्ट्रियता भन्दै नदीनाला जति विदेशीहरुलाई समर्पण, वाम भन्दै दक्षिणपन्थीहरुसँगको सहवास, यी सबै उल्टो यात्राको प्रतिनिधि उदाहरण हुन् । विदेशी शक्ती केन्द्रहरुबीच कहिले यो वा त्यो कित्ता भन्दै यहाँ खेल्न उक्साउनेबाहेक केही हुन सकेको छैन । कहिले भारत परस्त, चीन परस्त, अमेरिका वा युरोपियन युनियनको कित्ता यताउता गरेर राष्ट्रिय स्वाभिमान बलियो हुन सक्दैन । धर्मको नाममा त्यस्ते खेलाउन खोजिएको छ । घरी ईशाई, मुस्लिम वा हिन्दुको आवरणमा कित्ताहरु यताउता गरेर पक्षधरता देखाएर देशलाई साम्प्रदायिक द्वन्द्व फसाउन खोजिंदै छ । घरी गाईको मुद्दामा जनताको सेन्टिमेन्ट डाइभर्ट गर्न खोजिन्छ । राष्ट्रिय स्वाभिमान बलियो बनाउने हो भने पहिला आपूm ठिङ्ग उभिन सक्नु पर्छ । भ्रमण गर्ने निम्ता आउँदैमा राष्ट्रियता बलियो हुने भए नेपालको यो विजोग अवस्था हुने थिएन । साँच्चै राष्ट्रियता जोगाउने हो भने अनावश्यक विदेश भ्रमणहरुलाई राज्यले बन्द गर्नु पर्छ । हुन त हाम्रो सामाजिक मनोविज्ञान नै त्यस्तो छ कि विदेश गयो कि ठूलो वनियो । नेता, मन्त्री र प्रधानमन्त्रीलाई पनि त्यही रोगले समातेको छ । प्रधानमन्त्री हुनासाथ विदेश भ्रमण नै पहिलो प्राथमिकता हुने सरकारबाट जनताले के अपेक्षा गर्ने ?

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>