राष्ट्रघाती गद्दारहरूलाई समयमै चिन्न जरुरी छ – बलराम तिमल्सिना

२०७५ बैशाख ३० गते, आईतवार

हिमालेदेखि पहाड मधेशका जनताको नाङ्गो आँखाले हिन्दूस्तानका प्रम नरेन्द्र मोदीको नेपाल डुलाईमा आफ्नो सिर निहुरेको अनुभूति गरे । यतिसम्म कि सत्ता साझेदार माकेका अधिकाङ्स युवाहरूले समेत निकै “अनइजी” महसुस गरेको देखियो । सत्ता नियन्त्रित र भारत परस्त विग मिडिया वाहेक नागरिक समाज र वौध्दिक जनमतबाट समेत सरकार अलगथलग र निरिह देखियो । आज संसदमा बोल्दै गर्दाको नेपालका प्रधानमन्त्रीको अनुहार साटिएको थियो। संसदमा बोलिरहेको प्रमको अनुहारमा लज्जा, अपराधवोध र हारको प्रस्ट झल्को देखिन्थ्यो । उपेन्द्र यादव र काङ्ग्रेसले समेत एमालेलाई लम्पसार नपर्न सुझाव दिएको सुन्दा स्थिति निकै भयावह छ भन्ने बुझिन्थ्यो । तर यो सन्दर्भमा सिङ्गो एमालेभित्रको र माकेको नेतृत्व पंक्तिको मौनता हेर्दा यिनीहरू केपी ओलीको अगुवाईमा राष्ट्रघातमा एकाग्र भएर लागेका छन भन्ने अनुमान गर्न सकिन्थ्यो ।
संसारले बुझ्ने गरी भएको नेपालको आत्मसमर्पणको यो घटना पछि एमाले-माकेभित्रका पिर मान्ने साथीहरू अव के गर्लान । घनश्याम भुषालको आलोचना सुनेर मन थामेर बस्लान एमाले जनहरू या बगावत गर्न तयार होलान ? एमाले नामको बोरा पूरै कुहेको आलुको वोरा हो कि त्यसभित्र दुई चार काम लाग्ने आलु पनि छन भनेर अव हेर्ने समय भएको छ । त्यस्तै मूलत एमालेकै आदर्शमा विलिन हुन पुच्छर ठड्याएर ओरालो झरेको माके अव के गर्छ ? त्यसभित्रका युवाहरू अव के गर्छन् । कि ती पनि -” प्रचण्ड छन , ढुक्क भएर सुतिन्छ” भनेर सुत्छन् ?
के तिनीहरू हिजो र अस्ति अलि अलि मोदी भ्रमणको विरोध गरेपछि पाप पखालिएको सोच्छन र फेरि प्रचण्डको पछि पछि पैकारीले किनेर डोर्याएका बाख्रा पाठा जसरी हिड्छन् ? सिध्दान्तमा तिलको गेडो नछोड्ने भनेर चर्चामा आएका नारायण काजी र उनलाई त्यो चर्चामा ल्याएर मख्ख परेको उनको गुट अव के गर्छ ? सिध्दान्त फिध्दान्तका दिन गए भन्दै ठूलो भागको लागि करकर गरेर बस्छ कि बगावत गर्ने आँट गर्छ ? यी र यस्तै प्रश्नहरूको वरिपरि नेपालको राजनीति केही दिन घुम्ने देखिन्छ ।
गाउँको ठूलो साहु केही गरी गरिवको घरमा बास बस्यो भने गरिवको घरका गोठका भैंसी , खोरका खसीदेखि ओछ्यानका छोरी बुहारीसमेत जोगाउँन गारो परेजस्तै छिमेकी धनी देशका अटेरी प्रम आउँदा हाम्रो देशको हालत भएको छ । ओली जीको आजको अनुहार त्यही खसी बोका भैंसी देखि स्वास्नी छोरी बुहारी पनि जोगाउँन नसकेको घरमुलीको जस्तो देखिएको छ । उनी त ढले ढले । प्रचण्ड पनि चुपचाप ढले । अव हामीहरू के गर्ने ? के हामी पनि ढल्ने ? किन ढल्ने ?
अहँ हामीलाई ढल्न हाम्रो नैतिकताले दिदैन । प्रचण्ड र ओलीहरूको त कुनै करार होला । मोदीले सरकार टिकाइदिने र एताकाले मोदीले भनेको खुरु खुरु दिने करार होला । तर आम नागरिकलाई त्यो करार अमान्य छ । सम्पूर्ण वामपन्थी प्रगतिशील तथा देशभक्त जनसमुदायहरूले यी राष्ट्रघाती गद्दारहरूलाई समयमै चिन्न जरुरी छ ।
एमाले-माकेभित्रका इमान्दार साथीहरू ! हामी तपाईहरूको सचेत विद्रोहलाई स्वागत गर्न पर्खेर बसेका छौं । सिङ्गो देश पर्खेर बसेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु