‘राजाका तस्वीर अंकित नोट नचल्ने भन्ने हल्ला मात्र ‘

२०७७ जेष्ठ १२ गते, सोमबार

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले केही सञ्चार माध्यमहरुमा ‘अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने’ भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । बैंकले राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको प्रष्ट पारेको छ । राष्ट्र बैंकले यस बारेमा विज्ञप्ती जारी गरेर भनेको छ ‘कोरोना भाइरसका कारण नोट छपाई र ढुवानीमा हुन गएको असहजतालाई मध्यनजर गर्दै प्रयोगमा ल्याउन सकिने अवस्थाका नोटलाई पुनः बजारमा लैजाने उद्देश्यले सफा नोट व्यवस्थासम्वन्धमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।’
विज्ञप्तीमा राष्ट्र बैंकले राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको पनि उल्लेख गरेको छ । तर, राजाको तस्वीर अंकित नोटहरु केही वर्षदेखिनै राष्ट्र बैंकले खिच्दै आएको र राजाका तस्बीर अंकित नयाँ नोटहरु भने नछापको प्रष्ट पारेको छ ।
बैंकमा जम्मा भएका राजाको तस्वीर अंकित नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको दश वर्ष बढी भइसकेको पनि राष्ट्रबैंकको भनाइ छ ।
विक्रम सम्वत २०६५ सालदेखि राष्ट्रबैंकले राजाका तस्बीरहरु अंकित नोट नछापेको र बैंकहरुमा आएको नोटहरु पनि बाहिर पुनः नजाने गरी खिच्न निर्देशन दिइसकेको छ । सर्वसाधारणसँग राजाको तस्वीर अंकित नोटहरु भएमा बैंकहरुमार्फत सटही गर्न पाउने पनि राष्ट्र बैंकले प्रष्ट पारेको छ । त्यस्तै अहिलेको समयमा मात्रै नभई भोलिका दिनहरुमा पनि यस्ता नोटहरुको सटही गर्न पाइने पनि राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु