राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

२०७५ बैशाख २९ गते, शनिबार

काठमाडौँ, २९ बैशाख । सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् । दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार प्रधानमन्त्री लिले यही जुन १२ तारिखका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको पनि बताए । लिले दुई नेताको शिखर सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुने विश्वास समेत ट्रम्पसँगको टेलिफोन कुराकानीमा व्यक्त गरेको जनाइएको छ । सिंगापुरले सो शिखर सम्मेलन आफ्नो देशमा आयोजना गर्नका लागि आग्रह गर्नुुका साथै पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता पहिले देखि नै जनाउँदै आएको थियो । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सिंगापुरमा हुने शिखर सम्मेलन एउटा महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ । ट्रम्पले भने सम्मेलनको आयोजना गर्न लागेकोमा सिंगापुरका प्रधानमन्त्री लिलाई धन्यवाद दिएका छन् । -रासस÷सिन्ह्वा

प्रतिक्रियाहरु