युराेपेली देशमा सिमाना बन्द गर्न प्रस्ताव

२०७६ चैत्र ४ गते, मंगलवार

काठमाडाैँ, ४ चैत । युरोपेली संघले कम्तिमा ३० दिनसम्मका लागि युरोपेली मुलुकहरुमा अत्यावश्यक नपरी यात्रा गर्न प्रतिबन्ध लगाउने बताइएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले सोमबार यो घोषणा गरेकी हुन् । उनले अनावश्यक यात्रामा प्रतिबन्ध लगाउनेगरी युरोपियन युनियनभित्र सबै सीमा बन्द गर्न प्रस्ताव गरेकी छन् । उनका अनुसार एकपटक युरोपेली नेताहरूले अनुमोदन गरेपछि मात्र कम्तिमा एक महिनाको लागि अत्यावश्यक यात्राको अनुमति दिइनेछ । अन्यथा युरोपेली मुलुकमा यात्रा गर्न अनुमति हुनेछैन ।
आयोगकी अध्यक्ष लेयनले एक भिडियो बयानमा भनेकी छन्, ‘म हरेक राज्य र सरकारका प्रमुखहरुलाई यो प्रस्ताव र्गदछु कि युरोपेली संघभित्र अनावश्यक यात्रा गर्न अस्थायी प्रतिबन्ध लागू गर्नुहोस् ।’ उनले सोमबार जी-७ नेताहरूबीच भिडियो कन्फरेन्सपछि उक्त प्रस्ताव गरेकी हुन् ।
कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न युरोपेली देशभित्र वा युरोपेली देशबाहिर आउजाउ गर्न सकेसम्म बन्द गर्नुपर्ने उनले बताएकी छन् । एक प्रेस सम्मेलनमा उनले भनेकी छन्, ‘हामीलाई लाग्छ, अब भाइरस थप नफैलियोस् भन्नका लागि युरोपेली युनियनभित्र वा यूरोपियन युनियन छोड्दै हुने अनावश्यक यात्राहरू कम गर्नुपर्दछ ।’ तर ‘शेन्जेन ट्राभल क्षेत्र’ अन्तरगतका देशहरु- गैर ईयू सदस्यहरू सहित आइसल्याण्ड, लिक्टेनस्टेन, नर्वे र स्विजरल्याण्डको हकमा यो नियम लागू नहुने पनि उनले बताएकी छन् । यसैगरी इयूबाट बाहिरिएको तर केही ट्रान्जिसनहरु बाँकी रहेकाे बेलायतको हकमा पनि छुट दिइने बताइएको छ । ‘बोर्डर गाइडलाइन’ भन्दै उनले उपाय र प्रस्तावका रुपमा दुइटा बुँदा अघि सारेकी छिन् । जसमा ग्रीन लेन तथा द्रुत लेनहरू, गतिशील क्षेत्रलाई निरन्तरता दिन र आर्थिक निरन्तरता सुनिश्चित गर्नका लागि आवश्यक यातायातलाई प्राथमिकता दिँदै अनावश्यक यात्रामा ३० दिनका लागि अस्थायी प्रतिबन्ध लगाइने जनाइएको छ ।
यसअघि जर्मनीले सोमबार बिहानदेखि नै फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको जनाएकाे थियाे । पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्ने बताएकाे थियाे ।

प्रतिक्रियाहरु