यार्तुङ महोत्सव सम्पन्न

२०७५ भाद्र १२ गते, मंगलवार

काठमाडौं, १२ भदौ । हिमाली जिल्ला मुस्ताङको यार्तुङ महोत्सव सकिएको छ । जनैपुर्णिमाकै दिन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बसोबास गर्ने हिमाली आदिवासी जनजाती गुरुङ समुदायको सांस्कृतिक पर्व यार्तुङ भएकाले सर्वसाधारणको भीड थियो । बर्खायामको समाप्तिपछि हिउँदयाम लाग्यो भन्ने सङ्केतस्वरुप उक्त समुदायले यार्तुङ मनाउने गरेका हुन् । समाजसेवी छिरिङ धावा गुरुङका अनुसार यार भनेको बर्खायाम र तुङको अर्थ घोडा दौडाउनेलाई बुझिन्छ । एक आपसमा भेला भएर बर्खायामको बिदाई तथा हिउँदयामको स्वागतार्थ मुस्ताङका गुरुङ समुदायले आ–आफ्नै शैलीले यार्तुङ पर्वलाई मनाउने गर्छन् ।
त्यस्तै उपल्लो मुस्ताङका गुरुङ र लोहा समुदायले पनि यार्तुङ पर्व विशेष रुपमा मनाउने गरेको पाईन्छ । प्रत्येक वर्ष जनैपुर्णिको शुभसाईतमा यार्तुङ पर्व मनाईने भएकाले जिल्ला भित्रका स्थानीयवासी लगायत जिल्लाका सरकारी निकायका कर्मचारीको समेत उल्लेख मात्रामा जमघट हुने गर्छ । आईतबार पुर्णिमाका दिन एकाबिहानै पुजाआजागरी जनै लगाउनेदेखि मुक्तिनाथमा बत्ती बाल्न सर्वसाधारणहरुको मुक्तिनाथ परिसरमा लर्को लागेको थियो । यसरी मुक्तिनाथ पुगेका धार्मिक श्रद्धालुहरुले दिउँसो यार्तुङ अवलोकन गरेका थिए ।
मुक्तिनाथ रानीपौवा पुराङका गुरुङ समुदाय र झारकोट गाउँका गुरुङ समुदायले संयुक्त रुपमा रानीपौवा बजारमा यार्तुङ देखाउने चलन छ । मुुक्तिनाथ र झारकोटको स्थानीयहरु अलग अलग घोडामा सवार हुँदै मुक्तिनाथ मन्दिर माथिको गुम्बामा पुजाआजा गरी पुनः रानीपौवामा आएर घोडा दौडाउने गर्दछन् । दिउँसो २ बजेदेखि बजारक्षेत्रमा स्थानीय युवाहरुले घोडा दौडाउन सुरु गरेका हुन् । बिना प्रतिस्पर्धा केवल मौलिक परम्परागत साख जोगाउने उद्देश्यले घोडा दौडाउने गरिन्छ ।
यार्तुङका अवसरमा झारकोट र मुक्तिनाथ रानीपौवाका गुरुङ समुदाय तिब्बतीयन कलात्मक भेषभुषामा सजिएका थिए ।उनीहरुले सांस्कृतिक नृत्य स्यार्पो नाच पनि देखाएका थिए । यार्तुङकै अवसरमा स्वदेशी तथा विदेशी पर्यटक प्रवर्द्धन गर्न जनप्रिय युवाक्लव रानीपौवाले विभिन्न खेल र सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लवका पुर्वअध्यक्ष सुरज गुरुङले जानकारी दिए । -सुन्दरकुमार थकाली

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार