‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

२०७४ भाद्र १ गते, बिहीबार

काठमाडौँ, १ भदौ । राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को ः आशाको, एउटा बस्ती ः गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ ।
यहाँ बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले ज्ञानको खोजीका लागि विभिन्न किसिमको संघर्ष गरी लेखकले मुलुकमा सामाजिक न्याय, समतामूलक समाज निर्माणका लागि कृति प्रेरणाको स्रोत बन्नसक्ने विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ साहित्यकार तारानाथ शर्माले प्रकृतिको व्यापकता, धरतीको जीवन, अन्तरिक्षको गहिराइ नै जीवनको रहस्य भएको सन्देश पुस्तकले दिने बताउनुभयो ।
पूर्वमन्त्री मोदनाथ प्रश्रितले प्रकृति, सौन्दर्य तथा राजनीतिलगायत समाजका विभिन्न आयामलाई लेखकले नयाँ शैलीबाट साहित्यमा प्रयोग गरेकाले पुस्तक पाठकलाई महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार बैरागी काँइलालगायतले मुलुकको राष्ट्रियता, इतिहास, मानवता, माक्र्सवादलगायत विषय कृतिको मूलपक्ष भएको बताउनुभयो । – रासस

प्रतिक्रियाहरु