यातायातका साधनमा जोर विजोर प्रणाली लागू

२०७६ कार्तिक १९ गते, मंगलवार

काठमाडौँ, १९ कात्तिक । भारत सरकारले राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ । दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय राजधानीमा प्रदुषण बढेकोले यसमा योगदान पुर्‍याउन निजी सवारी साधन (कार) प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन् । “आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौँ । कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौँ । मित्रता, सम्बन्ध बढाऔँ । पेट्रोलको वचत गरौँ र प्रदुषण घटाऔँ ।” उनले ट्वीट गरेका छन् । नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारी धनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो ।
दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिन (नोभेम्बर १४) सम्म लागू गरिने छ । तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ । भारतमा आइतबार साप्ताहिक विदा दिइने भएको र विदाका दिन सवारी साधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ ।
मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ मा गरेको घोषणाअनुसार सोमबारदेखि जोरविजोर प्रणाली लागू भएको हो । यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपतकालिन सेवामा भने लागू हुनेछैन । महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ । सोमबार जोरविजोर प्रणाली लागू हुने तयारी भइरहँदा यसको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) तथा प्रतिपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस–आई) ले विरोध जनाएका छन् । बिजेपीका वरिष्ठ नेता तथा राज्य सभाका सदस्य विजय गोयलले दिल्ली सरकारको जोरविजोर प्रणाली आफूहरूलाई मान्य नभएको बताएका छन् । उनले प्रदुषण नियन्त्रणका लागि राज्य सरकारले चालेका कदमले नागरिकलाई दुःख हुने र यो प्रदुषण नियन्त्रणका लागि सर्वमान्य आधार नभएको भन्दै साङ्केतिक विरोधका लागि आफूले सोमबार आफ्नो जोर नम्बरको सवारी साधन चलाउने बताए । नेता गोयलले आमआदमी पार्टीको यो कदमलाई निर्वाचनमा मत तान्ने नाटककारूपमा व्याख्या गरे ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु