मोबाइल मिल

काठमाडौं, २७ पुस । जहाँ समस्या, त्यहीँ उपाय । राप्ती सोनारी गाउँपालिकाका एक युवाले धान कुट्ने ‘मोबाइल मिल’ सञ्चालन गरेर स्थानीयलाई घरघरै सेवा दिएका छन् । गाउँपालिका अझै बिजुलीविहीन छ । विद्युत् नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । धान कुट्ने मिल नहुँदा सास्ती छ । स्थानीय धर्मसिंह थारूले ट्याक्टरमा धान कुट्ने मिल जोडेर त्यस क्षेत्रमा राहत दिएका हुन् । धान कुटाउन आवश्यक परे फोन गरे पुग्छ । ट्याक्टरमा जडित मिल आँगनमै आइपुग्छ । धान कुटेर ट्याक्टर फर्किन्छ । क्विन्टलको १ सय ४० रुपैयाँमा मोबाइल मिलले धान कुट्ने गरेको हो । घरमै धान कुटाउन पाएकामा स्थानीय महिला धेरै खुसी छन् । उनीहरूको समय पनि जोगिएको छ । धान बोकेर टाढाको मिल जानुपर्ने झन्झट हटेको छ । ‘चामल सकिएपछि धान कुटाउनु परे फोन गर्छौं । ट्याक्टरको मिल घर आइपुग्छ । यसले हामीलाई निकै राहत दिएको छ,’ राप्ती सोनारीकी सुष्मा चौधरी भन्छिन्, ‘घरमै धान कुटाउन पाएपछि बोक्ने झन्झट हट्यो । मिल खोज्दै अर्को गाउँ जानु परेन ।’
बाँकेको राप्ती पारिको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा हालसम्म विद्युतीकरण नहुँदा त्यस क्षेत्रमा साना घरेलु उद्योग पनि स्थापना हुन सकेका छैनन् । विद्युतीकरणका लागि दुई दशक अघि प्रयास भएको थियो । तर प्राधिकरण र निर्माण कम्पनीको लापरबाहीले बिजुली नपुगेको स्थानीयको गुनासो छ । हरेक निर्वाचनका बेला ती गाउँपालिकामा विद्युतीकरण नै मुख्य मुद्दा बन्ने गरेको छ । तर समस्या सम्बोधन हुन सकेको छैन । गाउँमा मिल नभएका कारण पर्ने समस्यालाई सम्बोधन गर्न धर्मले ट्याक्टरमा मोबाइल मिल राखेको बताउँछन् । उनले घरघरमै धान कुट्ने सेवा दिन मिस्त्री राखेका छन् । ‘धान कुटाउन आसपासका गाउँबाट दिनभरि फोन आइरहन्छ । पालैपालो गरी घरमै धान कुट्ने गरेका छौं,’ मिल मिस्त्री चुन्नीमान चौधरीले भने, ‘गाउँका मान्छेलाई राहत मिलेको छ । हामीलाई पनि केही आम्दानी भइरहेको छ ।’
राप्ती सोनारी गाउँपालिकामा विद्युत् पुर्‍याउन स्थानीयले पनि लगानी गरेका थिए । गाविसमा आउने बजेट र सामुदायिक वनबाट भएको आम्दानी विद्युत्कै लागि खर्चेका छन् ।तर सरकारी ढिलासुस्तीका कारण बिजुली पुग्न सकेको छैन । सामुदायिक विद्युतीकरणका लागि स्थानीय बासिन्दाले १० र ९० प्रतिशत सरकारले बेहोर्ने सहमति भएको छ । विद्युतीकरण ढिलाइले लागत बढ्दै गएको छ । ग्रामीण विद्युतीकरण परियोजनाको लागत ५० करोड पुगेको प्राधिकरण क्षेत्रीय कार्यालयले जनायो । विद्युत् विस्तारका लागि ३ करोड २२ लाख संकलन गरिएको थियो । ‘बिजुली कहिले आउने हो निश्चित छैन । ढिलासुस्ती देख्दा बिजुली आउने आस पनि देखिँदैन,’ स्थानीय अंशुरानी चौधरीले भनिन्, ‘यही ट्याक्टरमा जोडिएको मिलले काम चलेको छ । घरमै सेवा पाउँदा समय पनि बच्यो ।’
प्राधिकरणले त्यस क्षेत्रमा विद्युतीकरणका लागि काम जारी रहेको दाबी गर्दै आएको छ । तर कोहलपुर–धामपुर ३३ केभी लाइन विस्तारका लागि दुई वर्षे अवधि भए पनि ५ वर्षसम्म काम सम्पन्न भएको छैन । नरैनापुर–वैजापुर ३३ केभी लाइन विस्तारको काम पनि अलपत्र छ । -कान्तिपुर दैनिकवाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>