‘मुठिभर दलाल पुजिपतिहरुको सम्पती राष्ट्रियकरण गर्छौं’

२०७५ असार २७ गते, बुधबार

काठमाडौँ, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले मुठिभर दलाल पुजिपतिहरुको सम्पती राष्ट्रियकरण गर्ने ठोकुवा गरेका छन । उनले दलाल पुजिपति वर्गले जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको बताउदै उनीहरुले जनताको पसिनाबाट जम्मा गरेको सम्पती नेकपाले राष्ट्रियकरण गर्ने बताए । एक अन्तरवार्तामा बोल्दै ओलीले विनोद चौधरी, अजय सुमार्गी, मिनबहादुर गुरुङलगायतका केही मुठिभर दलाल पुजिपतिहरुको सम्पती कब्जा गरेर राष्ट्रियकरण गरिने बताए । जनताको श्रम र पसिना चुसेर सम्पति थुपारेका कारण कब्जा गरेर जनताको सम्पती बनाउनु पर्ने ओलीले धारणा राखे । उनले आफूहरुको लडाइँ दलालहरुसँग भएको बताउँदै उनीहरुको संरक्षण गर्नेसँग लडाइँ पर्ने बताए । त्यसको लागि जनतालाई सचेत र जागरण गर्ने बताए ।
दलाल व्यस्था र दलाल पुँजिपतिविरुद्ध जनताले संघर्ष गरेको बताउँदै ओलीले त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । दलालहरुले जनतालाई लुट्न नछोडे जनकारवाहीदेखि उच्चस्तरसम्मको कारवाही हुन सक्ने बताए ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भ्रष्टाचारमा संलग्न हुने गरेको बताउँदै ओलीले उनीहरुपनि जनकारवाहीको भागिदार हुने चेतावनी पनि दिए । उनले टेलिकमलगायतका संस्थाहरुमा हुने नियुक्तिमा पनि मन्त्रीले कमिसन खाने गरेको बताए । उनले टेलिकमलाई कमजोर बनाएर एनसेललाई बलियो बनाउने षड्यन्त्र भइरहेको बताए ।
एक अर्को प्रसंगमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना हुन्छ भनेर सिकाएको तर अहिले आफै निगमवालबाट किनिएको आरोप लगाए । उनले प्रचण्डलाई चौधरी, सुमर्गी निगम किनेका कारण पूरानै राज्यसत्ताको संरक्षणमा लागेको दाबी गरे । त्यसैगरी सहकारीले नयाँ सामन्तको रुपमा जनतालाई ठगिरहेको धारणा राखे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु