मालिकले जे गर्नु भयो – बलराम तिमल्सिना

२०७६ असार ४ गते, बुधबार

मालिकले
तरवार झिक्नु भयो
जनताको लागि
जव जनताले प्रतिवाद गरे
मालिकले
तरवार म्यानमा हाल्नु भयो
त्यो पनि जनताको लागि
जनता निदाएको समयमा
मध्य रातको निरवतामा
मालिक
म्यानबाट तरवार झिक्नु हुन्छ
हावामा हल्लाउँनु हुन्छ
यी..यसरी छ्याक्क छ्याक्क भन्नु हुन्छ
तरवारका गालामा म्वाइँ खानु हुन्छ
र एक्लै एक्लै मुस्कुराउँनु हुन्छ
मालिकले
यी सवै कुरा गर्नु हुन्छ
जनताकै लागि !

मालिक
वेला वेलामा
तरवारको धार छाम्नु हुन्छ
शिकार छिन्नेमा सन्देह गर्नु हुन्छ
र अर्जाप्न पठाउँनु हुन्छ
टलक्क टल्कने र रौं काट्ने तरवार
सिरानीमुनी राखेर
मालिक
सुकला गर्नु हुन्छ
जनताकै लागि !

मालिक
एउटा पनि काम गर्नु हुन्न
जनताको लागि फाइदा नगर्ने
जे गर्नु हुन्छ ,
जसो गर्नु हुन्छ
सवै थोक गर्नु हुन्छ
जनताको लागि !

तपाई नझुक्किनु होला
चुनावमा भोट हाल्ने मान्छे
मालिकका जनता होइनन्
ती त भेडा बाख्रा हुन
तपाई मालिकको जनता होइन
मालिकका नजरमा
जनता अरु नै कोही छन्
जसको सेवा र सुरक्षामा
मालिक तरवार बोक्नु हुन्छ

प्रतिक्रियाहरु