मानसिक तनावलाई कम गर्न पञ्चै बाजा बजाएर बिहे ! – बलराम तिमल्सिना

२०७६ बैशाख २७ गते, शुक्रबार

हो सीता भाउजूलाई छोरा तथा छोरीको वियोगको गहिरो पीडा छ । वहाँको त्यो पीडालाई न्युनिकरण गर्नु पटक्कै राम्रो कुरा होइन । यो कुरासँगै के कुरा पनि सत्य हो भने देशमा जनयुध्दको क्रममा हजारौं आमाहरूले यी पीडा व्यहोरेका छन र यस्तो थेरापीको खाँचो ती सवैलाई छ । युध्दमै भाग नलिएका पनि लाखौं परिवारलाई यस्तो पीडा छ । संझनोस त के निर्मलाकी आमालाई पीडा छैन होला ? आज सीता भाउजूको पीडामा घुँक्क घुँक्क रोएर ‘मानवीय संवेदना’ प्रकट गर्ने साथीहरूले के निर्मलाको परिवार वारे यसै गरी सोचे त ? ती साथीहरूले जनयुध्दमा एकभन्दा बढी सन्तान गुमाउँने आमाहरू अनि आमा-वुवा नै गुमाउँने सन्तानहरू वारे सोचे त ? मेरी आमाले पनि युध्दमा आफ्नो कान्छो छोरो गुमाउँनु भयो। म दैनिक आमाको अनुहारमा आमाका ती पीडाहरू पढ्छु । तर मेरी आमा थेरापी नै गर्नु पर्ने हालतमा हुनुहुन्न। प्रचण्ड दाइको बैचारिक राजनीतिक यात्रालाई साथ दिएकी एउटी अभिभावकले यसरी हतोत्साहित देखिनु उत्साहजनक हो त ? पक्कै होइन। के समान घटनाबाट जन्मने पीडा पनि ठूला बडाहरूका लागि ठूला र सानातिनाका लागि सानै हुन्छन त ? राज कुमारीको खुट्टामा काँडा बिझेछ भन्ने सुन्दा-” कठैवरी ! विचरी राजकुमारीका फूलजस्ता खुट्टाले कसरी खपे होलान ?” भनेर आँसु झार्न खोज्ने तर आफ्नै छोरीले घाँस काट्दा औंला काटिन भने-” छ्या किन आत्तिएकी ? अलि अलि घाऊ चोट त लागिहाल्छ नि !” भनेर हकार्ने शक्तिभक्त मानसिकताबाट हुर्केका हामीलाई अहिले सीता भाउजुको कथाले खुव तानेको छ। तर मलाई भने यस्तो कथाले पटक्कै तानेको छैन। किन भने यो अरु कसैलाई नपरेर सीता भाउजूलाई मात्रै परेको चोट होइन। अरु जनसामान्यलाई पनि संझाई बुझाई गर्नु पर्ने मान्छे आफै लम्पसार परेपछि कसैले कठैवरी समेत भन्न छोडेका हजारौं सहिद परिवारले कसरी चित्त बुझाउँछन ? अनि मानसिक तनावलाई कम गर्न पञ्चै बाजा बजाएर बिहे गर्ने यो भद्दा नाटक हेरेपछि टि-शर्ट र हाफ पाइन्ट लगाएर बिहे गर्ने हामीले के गर्ने ? फेरि बिहे गर्ने ? हैट !
जव आन्दोलन विचलित हुन्छ ।आन्दोलनका अगुवाहरू पैले बिचलित हुन्छन। अझ भनौं न , आन्दोलनका अगुवाहरू बिचलित भएपछि आन्दोलन बिचलित हुन्छ। हजारौं लाखौंका सपनाहरूलाई अँध्यारा खाडीमा गाडेर हिजो आफैंले दुश्मन घोषणा गरेकाहरूसँग लत्रिन गएपछि प्रचण्ड परिवारको नैतिक पूँजी गुमेर टाट पल्टेको छ। अव प्रचण्ड दाइ कमरेड रहेनन। अव उनी अजय सुमार्गीका गोप्य व्यवसायिक पार्टनर बने। संभवत: छोरा प्रकाशको अकल्पनीय मृत्युपछि लोकले थाहा नपाएको विशाल आर्थिक श्रोत अलपत्र भयो होला र त्यसको शोक होला ? शायद छोरा प्रकाशको मृत्यु प्रचण्ड परिवारको आत्मवल सदाको निम्ति धराशायी बनाइदिने उनीहरूको लागि ज्ञात तर बाहिर भन्न नमिल्ने कुनै वैदेशिक शक्ति मार्फत भयो होला ।त्यसपछि छोराको मृत्युको शोकसँगै सिङ्गै परिवारको जीवनको खतराको वादल सीता भाउजूले देख्ने गरी मडारिएको होला । सायद सीता भाउजू कुनै बेलाको महान विद्रोहीकी महान जीवन यात्रीबाट खुर्मुरिएर प्रचण्ड दाजुसँगै
एउटा आक्स्मिक रुपले बर्गोत्थान भएको भ्रष्ट राजनीतिज्ञकी अधिकार विहिन गृहिणी मात्र भइन होला । सायद सीता भाउजूलाई प्रचण्ड दाजुको यौन आचरण वारे भ्रम नै सही गंभीर शङ्का लाग्यो होला । या शायद बिचरी भाउजूलाई एमालेमा पुगेर किएको प्रचण्डको कद देख्दा पनि आत्म ग्लानी भयो होला। मेरो विचारमा सीता भाउजूका दुख र अवसादका अरु नै गोप्य कारण छन। एउटी सामान्य महिला भएका कारण उनले त्यो बाहिर भन्न पनि सक्दिनन र भनिन भने उनको खैरियत पनि रहदैन कि ?
चाहे जे होस , श्रीमतीको प्रवल मागको नाममा प्रचण्ड दाजुले आज पुन:विवाहको उत्सव मनाए । भोलि भाउजूले छोराको नाममा श्रीमद भागवत सप्ताह लगाऊँ भन्नु होला , भोलि भाउँजूले छोराको नाममा एउटा मन्दिर बनाऊँ भन्नु होला या यस्तै केही भन्नु होला । या सीता भाउजूको आत्माको शान्तिको लागी, कुनै पोखरी, तलाऊ या मन्दिर बनाउँने माग आयो भने प्रचण्ड दाजुले के गर्नु होला ?
मेरो मनले भन्छ- सीता भाउजू सत प्रतिशत आध्यात्मिक भैसक्नु भएको छ। त्यसो त वहाँ भौतिकवादी कैलै बन्नु भएन होला र भाउजूबाट भटाभट त्यस्तो माग आउने खतरा छ।
कुनै दिन युध्दमा मारिएका सेना प्रहरी र सिभिलहरूको संझनामा – प्रचण्ड परिवारले ” पाप मोचन महायज्ञ”गर्ने खवर आयो भने पनि त्यसलाई पत्याउँन म तयार भएर बसेको छु।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु