माचिस्मो – बलराम तिमल्सिना

२०७६ कार्तिक ८ गते, शुक्रबार

घर-परिवार
अड्डा-अदालत
चौकी-थाना
प्रहरी-प्रशासन
सेना-सत्ता
सव चलाउँछ –
माचिस्नोले !

क्लव- कलेज
मन्दिर- मस्जिद
चर्च- गुम्वा
वेद- वाइवल
त्रिपिटक-कुरान
तपाई जहाँ हेर्नोस
गजधम्म बसेको हुन्छ-
माचिस्मो !

धर्मको व्याख्या
कानूनको निर्माण
पञ्चायतीको फैसला
हर हिसावको फरफारक
सब माचिस्नोको हातमा छ !

सवैभन्दा धेरै माचिस्नो
ईश्वरहरूमा थुपारिएको छ
त्यसपछि
शासक प्रशासकहरूमा
त्यसपछि
सम्पत्तिका मालिकहरूमा
र वाँकि सवै
पुरुष प्रजातिहरूमा !

पुरुषहरूलाई
मान्छेबाट अलग बनाएर
क्रुर, यौन पिपासु
निरङ्कुश र
महिलाहरूको शिकारी बनाउँने
एउटा मनोवैज्ञानिक रोग हो
माचिस्मो
अर्थात – पुरुषार्थ
जसलाई
पूजा गरिन्छ हाम्रो समाजमा
जसको आगोले
समाजको आधा हिस्सा जलेको छ !

हरेक बच्चा
जन्मदा निर्दोष जन्मन्छ
सुरुमा घरले
त्यसपछि समाज र राष्ट्रले
हरेक पुरुष प्रजातिलाई
माचिस्मोमा पुनर्रचना गर्छन्
र माचिस्मोले
आफ्ना रचनाकारहरूलाई
तुरुन्तै बलात्कार गर्न थाल्छ !

माचिस्मो
हाम्रो समाजको
एउटा आतङ्ककारी समस्या हो !

हरेक प्रात
हरेक साँझ
मभित्रको माचिस्मो संझेर
म पटक पटक डराउँने गर्छु !

प्रतिक्रियाहरु