महिलाले विशेष अधिकारको लागि लड्न आवश्यक – विनोद दाहाल

२०७६ असार २१ गते, शनिबार

महिला भनेर सम्बोधन गर्दा कतिलाई नराम्रो लाग्छ, उनीहरु नारी नाममा सम्बोधन गर्न रुचाउछन् । उनीहरु स्त्री भनेर आदरभावको साथ सम्बोधन गरेको ठान्दछन् । कोही नामर्दको नाममा सम्बोधन गर्दछन् त कोही आइमाई भनेर पनि सम्बोधन गर्ने गर्दछन् । आधा आकाश भनेर सांकेतिक भाषमा सम्बोधन गरेको पनि हामी भेटन सक्छौं । कैयौं महिलाहरुले आफ्नो जुनी बिना सम्बोधन पनि बिताएका छन् । नाम के थियो भनेर जान्नु पर्ने अवस्था नै नआइकन उनीहरुको जुनी बित्दा पनि समाज प्रश्न उठाउँदैनथ्यो । जेहोस् अधिकार खोज्ने महिलाहरु महिला भनेर नै सम्बोधन रुचाउने गर्दछन् । महिला अहिले सम्बोधन गर्नैपर्ने अवस्थामा छन् । महिला–पुरुष समानताका बहसहरु धेरै हुने गरेका छन् । कोही नारिवादी हुँ भन्दै बहस गर्छन् त कोही महिला अधिकारवादी भएर बहस गर्दछन् । कोही आइएनजिओको पैसा सक्नको लागि बहस गर्दछन् त कोही राजनीतिक स्वार्थ पुरा गर्नको लागि बहसलाई उत्कर्षमा पु¥याउने प्रयत्नमा लागिरहेका हुन्छन् । कोहीले सरोकारको बिषय ठानेर बहस गर्ने गरेका छन् त कसैले यो बेसरोकारको बहस ठान्ने गरेका छन् । कोहीको के तर्क आउने गरेको छ भने वर्गीय मुद्दालाई बहसको केन्द्रमा राख्नु पर्नेमा लैंगिक, जातीय, सांस्कृतिक, क्षेत्रीय जस्ता मुद्दालाई बहसको केन्द्रमा लैजाँदा सबै प्रयासहरु व्यर्थ हुन पुग्दछन् । जेहोस् लैंगिक मुद्दालाई लिएर सँधैजसो बहस हुने गरेका छन् जुन आवश्यक पनि छ ।
महिला सरोकार चेतनाको उपज हो । सदियौंदेखि दासताको अवस्था हो महिला समुदायको । बिगत महिलाको लागि अत्यन्त कष्टकर र संकटको अवस्था हो । महिलाले मानिसको जुनी पाउने अवस्था अधिकारको लडाईंको पछिल्लो अवस्थापछि मात्र हो । संसारभर अहिले पनि हामी बिभिन्न कुप्रथाका अवस्था देख्दछौं जुन महिलाबिशेषलाई लक्षित गरेर चलेका थिए । हाम्रो समाजमा बोक्सी प्रथा, छौपडि प्रथा, देउकी तथा कुमारी प्रथा, कन्यादान प्रथा, पैत्रिक सम्पत्तिबिहीन हुने चलन, तिलक तथा दाइजो प्रथा, बिभिन्न अवस्थामा बिटुली हुने चलन, वालविवाह, आश्रित र नियन्त्रत हुने अवस्था, पुरुषको धार्मिक बनाउने नियत आदि महिलाले भोगिरहेका समस्या हुन् जसको प्रभाव जीवनका हरेक क्षेत्रमा देख्न सकिन्छ । सतीप्रथा जस्तो त्रूmर र निर्दयी प्रथा महिलाको जीवनबाट भागेको अवस्था छ भने पर नसर्दै चोखी कन्या विवाह गर्ने भन्दै काखमा बोकेर लैजाने जस्तो विवेकहीन विवाहपद्धती पनि अहिले समाजबाट उन्मुलन भैसकेको अवस्था छ । सबै महिलाले एकै किसिमले समस्या भोगिरहेका छैनन, कोहीले आर्थिक अधिकार गुमाएर दासत्वको अवस्थामा जीवन बाँचेका छन् । कोही महिला दलित अवस्थाको पीडा पुरुष भन्दा बढी सहेर बाँचेका छन् भने क्षेत्रीय तथा जातीय अवस्थाको पीडा पनि त्यसरी नै भोगिरहेका छन् ।
कोही समान नै छन् नि भन्ने भावका तर्कहरु गर्छन, कोही कहिल्यै हुन नसक्ने तर्कहरु गर्ने गर्दछन् । एकाथरिले चाहिं के पुरुषहरुबीचमा चाहिं समानता छ र भनेर प्रतिप्रश्नहरु गर्ने गर्दछन् । यसैबीच हामी सबै चासो नभएको बिषयमा पनि आइएनजिओको योजनामा बहसमा पुग्ने गरेका पनि छौं । खासमा कसरि सम्भव हुन्छ लैंगिक समानता ? यो बिषयमा घोत्लिएर सोच्नु जरुरी छ ।
जनावरहरु बीचमा न कसैलाई बिशेष अधिकार छ न असमानता र विभेद छ । मानिस सचेत प्रणी हो जो आफ्ना आवश्यकताका सबै सवालहरुको समाधान गर्नसक्ने क्षमता राख्दछन् । लैंगिक असमानता पनि अहिलेको समाधानको सवाल हो जुन सजिलै मानिसले समाधानको इमता राख्दछ तर भएको छैन । किन यस्तो छ त ? किनकि सबै मानिसले यसको समाधान खोजेका छैनन् । अझ भन्ने हो भने शासक वर्गले नै यसको समाधान गर्न नखोजेकाले यो जटिल जस्तो बनेको छ ।
समानताको कुरा गर्दा निरपेक्ष भएर खोज्न थाल्यौं भने हामी असम्भव रहेको निश्कर्षमा पुग्दछौं । समानताको कुरा सापेक्षित कुरा हो । महिला मात्र हैन वर्गीय समाजमा पुरुषपुरुषबीचमा पनि असमानता छ । वर्गीय समाज रहेसम्म महिला–पुरुष समानताको कुरा आकाशको फल हुन्छ । लैगिक समानताको बिषयमा बहस गर्दा वर्गीय समस्याको बिषयमा नजोडिकन समाधान खोज्ने एकखालको बुर्जुवा दृष्टिकोणसँग होसियार रहनु पर्दछ ।
एकखालका मानिस लैगिक बिषयमा बहस गर्दा संवैधानिक, कानुनी, आर्थिक, राजनीतिक आधारमा समानता नै छ भन्ने गर्दछन् । पारिवारिक आधारमा हेर्दा पनि समान अधिकार कायम छ तर परिवारको प्रमुखको स्वामित्वमा सम्पत्ति रहने गरेकाले बेमेलको अवस्थामा असमानता झैं लाग्नेगरी समस्या श्रृजना हुने गरेको छ, अवस्थाको समाधान खोजेपछि समानताको नजिक पुगिन्छ भन्ने उनीहरुको धारणा छ ।
शरिरिक बनावट पोथी जातीको सानो र हलुका हुने गर्दछ, भाले जातीको जस्तो आकर्षक र बढेमानको हुँदैन । भाले जाती स्वभावैले शक्तिशाली र स्वतन्त्र हुन्छ । यौनिक हिसाबले पनि हमेशा तयारी अवस्थाको जस्तो भान हुन्छ । जैबिक हिसावले पनि पोथीबाट फैलावटको क्षमता कमजोर रहेको हुन्छ । यसले बनाएको बिसमता समाजमा हामी जतिसुकै मिलाए पनि बराबर गर्न सकिन्न । अहिले समाजमा देखिएको बिभेदको कारण यही नै हो । यसो भनेर तर्क गर्नेहरुको पनि बजार कम्ताको छैन ।
हामी बाँचेको बुर्जुवा समाजमा ऐना जत्तिकै छर्लङ्ग देखिएको कुरा के छ भने व्यक्तिको स्वामित्वको पुँजीमा आधारित आर्थिक तत्वको उपरिसंरचनाको आधार र धर्म संस्कृतिको जालले मानिस बाँधिएका छन् । यसमा उत्तरआधुनिकता र उपभोक्तावादले मानिसलाई गाँजेको छ । यो सन्दर्भ आर्थिक अधिकार गुमेको महिला समुदाय बढी प्रभावित भएको देखिन्छ । सबै कुरा पुँजी र त्यससँग जोडिएको शक्तिसँग जोडिएर आउँदा महिला समुदाय बढी शोषित, उत्पिडित, दमित, अन्याय र दमित अवस्थामा पुगेको देखिन्छ । समाजमा महिला समुदाय बढी बिद्रोहि बनेको अवस्था देखिन्छ । हरेक वर्गसंघर्ष र बिद्रोहहरु महिलाको मुक्तिसँग जोडिएर आउँदा उनीहरु अग्र मोर्चामा उपस्थित भएको देख्न सकिन्छ । बिशेषगरी जनयुद्धमा यो समुदाय बढी आशावादी बनेर क्रियाशील बनेको अनुभुगी हरेक अनुसन्धानकर्ताले बताएका छन् ।
मानिस सभ्य समाजतिर लम्किनको लागि महिलालाई बिशेष प्राथमिकतामा राखेर सामाजिक संरचना निर्माण गर्नु आवश्यक छ । महिलाको र तमाम मुक्तिकामी श्रमजीविको लागि समाज सर्वहारा वर्गीय दृष्टिकोणमा आधारित भएर नयाँ संरचनामा खडा गर्नु जरुरी छ । समान स्वतन्त्रताको नारामा महिलाई झुक्याएर फेरिपनि साँझ पर्नासाथ कर्फु झैं अवस्थामा बाँच्ने स्थितिबाट मुक्त गर्न सबै लाग्नु जरुरी छ । अहिले पनि महिला समुदायले विशेष अधिकारको लागि लड्नु आवश्यक छ । धर्मको जालबाट मुक्त हुने र पुँजीको प्रभावबाट मुक्त नभैकन कोही खासमा मुक्त भएका हुँदैनन् भनेर बुझ्नु जरुरी छ । महिलाको काम सेवाको लागि भन्ने मान्यता र स्थितिबाट महिला मुक्त हुनु जरुरी छ ।
मुख्यतः राजनीतिक नेतृत्वबाट यसको पहल लिन आवश्यक हुन्छ । स्थिति कस्तो कठोर अवस्थामा छ भने बिचारको आधारमा मानिसको सम्बन्ध कायम भएको हुन्छ । नाता र रक्त सम्बन्ध कमजोर हुँदै गैरहेको छ । बिचारको आधारमा श्रीमानको बिचारमा हिंड्न महिला वाध्य भएको अवस्था छ । श्रीमानले पार्टीहरु चहार्दा महिला पनि सोही अनुसार पछिपछि हिंड्न वाध्य भएका पीडा पनि ओकल्ने अवस्थामा पुगेका छन् कोही महिलाहरु । सचेत र संगठित महिलाहरुले यसमा गति दिनु आवश्यक छ । पुरुषले पनि महिलाको यो अवस्थालाई सम्मानजनक ढङ्गले सम्बोधन गर्नु आवश्यक छ ।

प्रतिक्रियाहरु