मनाङमा पर्यटकको लर्को

२०७४ भाद्र २८ गते, बुधबार

काठमाडौं, २८ भदौ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् ।
गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो ।
हिमाल पारीको जिल्ला मनाङ अहिले कुनै विदेशी मुलुकजस्तै देखिन थालेको छ । लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल – धारापानी– चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्ने गर्दछन् ।
यहाँ पर्यटन व्यवसायीले पर्यटकलाई कुनै पनि असुविधा नहोस् भनी सुविधासम्पन्न होटल निर्माण गरेका छन् जहाँ खानबस्नको राम्रो सुविधाका साथै पिउने पानी, चर्पी र बाथरुम व्यवस्थित छ । २४ सैँ घण्टा तातो र चिसो पानीको व्यवस्थाका साथै हाइअल्टीच्युड (लेक लाग्ने)का लागि प्राथमिक उपचारका सामान प्रत्येक होटलमा राखिएको छ ।
यहाँ आउने पर्यटक विशेष गरेर थोराङ पास, लार्के पास, र कांला पासका साथ साथै विश्वकै अग्लो स्थानमा रहेको तिलीचो तालको अवलोकनका लागि आउने गरेका छन् ।
त्यस्तै, यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमश्रृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गंगापूणर््ा, जूलू पीक, पिसाङ पिक, निलगिरि र तिलिचो पिकजस्ता हिमाललाई नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायी गुरुप्रसाद गुरुङले बताउनुभयो ।
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई जोड दिने उद्देश्यले यहाँको कला संस्कृति, रीतिरिवाज, वेशभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन गरिएको छ ।
सूचना सञ्चारको विकासलाई ध्यान दिई मनाङको पर्यटन प्रवद्र्घनका लागि देश तथा विदेशमा प्रचारप्रसारमा जोड दिइएको जिल्ला पर्यटन विकास समिति, मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । नवीन लामिछाने/रासस

प्रतिक्रियाहरु