मजदुरहरुलाई समाजवादी क्रान्तिको बाटोमा अगाडी बढ्न अपिल

२०७७ बैशाख १९ गते, शुक्रबार

काठमाडौं , १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले मजदुरहरुको समस्या समाधान र अधिकार स्थापनाको सवाल अव पूँजीवादी व्यवस्थाबाट संभव छैन भन्ने कुरा अकाट्य भएको ठोकुवा गर्दै मजदुरवर्गको अधिकार र समस्या समाधानको निम्ति मजदुरवर्गकै राज्य व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको बताएका छन । १३१ औँ विश्व मजदुर दिवसको अवसरमा शुभकामना संदेश दिदै प्रवक्ता प्रकाण्ड्ले नेपाल र विश्वभरिका मजदुरहरुलाई आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति समाजवादी क्रान्तिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न हाम्रो पार्टी विशेष अपिल समेत गरेका छन ।
प्रकाण्डले विश्व मजदुर आन्दोलनमा सहादत प्राप्त गर्ने एवं कोरोना संक्रमणबाट आफ्नो जीवन गुमाउन पुगेका सबै मजदुरहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित मजदुरहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शुभकामना सन्देशमा प्रकाण्डले भनेका छन् –‘वर्तमान पूँजीवादी विश्वले पूँजीको उत्पादन र विस्तारको मुख्य उत्पादक शक्ति मजदुरवर्गलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, संचार र यातायात लगायतका आधारभूत आवश्यकताबाट बञ्चित गराएर पासविक शोषण गरि राखेको छ । विश्वभरीका मजदुरहरुको आधारभूत आवश्यकता परिपुर्तिको प्रश्न जल्दो बल्दो मानव अधिकारको प्रश्न बन्न पुगेको छ । मजदुरहरुको रोजगारी पूँजीपतिहरुको स्वइच्छाचारिताको शिकार भएको छ । विगत पाँच महिना देखि विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाईरसका कारण संसारभरि लाखाैँ लाख मजदुरहरुले रोजगारी गुमाईरहेका छन् । यसर्थ विश्वभरिका मजदुरहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।’
यस्तै प्रकाण्डले बन्दाबन्दी पछि नेपालमा मजदुरहरुको अवस्था निकै दयनिय भएको भन्दै सरकार भने सत्ता संघर्ष र गुटबन्दीको खेलमा लिप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन–‘नेपालमा त मजदुरको अवस्था झन् दयनिय छ । दलाल पूँजीपति वर्ग र त्यसको संसदीय व्यवस्था चल्न थालेपछि त नेपालका मजुदरहरुको रोजगारी एकपछि अर्कोगरि धरापमा पर्दै गएको छ । कोरोना भाईरसको संक्रमणले देश बन्दावन्दीको अवस्थामा रहेकाले हजारौँ हजार मजदुरहरु बेरोजगार भएका छन् । तिनको दैनिक रोजीरोटीको सवाल असाध्यै जटिल भएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने असंगठित क्षेत्रका मजदुरहरुको त चुलो बल्न नै छाडेको छ । सरकारी पार्टी र सरकार भने सत्ता संघर्ष र गुटबन्दीको बौलठ्ठीपूर्ण खेलमा लिप्त छ । राहत वितरणमा सरकार राजनैतिक र पक्षपाति खेल खेलीराखेको छ । पाउनुपर्ने पिडित र मजदुरहरुले पाईरहेका छैनन् भने नपाउनुपर्ने मान्छेले गोदाम खडा गर्ने धृष्टता गरिरहेका छन् । सरकार भने राहत वितरणको गित गाइरहेको छ ।’
यस्तै विश्वभरीनै लाखौँ करोडौँ मजदुरहरु पुँजीवादी ब्यवस्थाले सिर्जना गरेको समस्याको चपेटामा परेको भन्दै नयाँ विश्वव्यवस्था बैज्ञानिक समाजवादी ब्यवस्था नै विश्वभरीका मजदुरहरुका समस्याको समाधानको उत्तम ब्यवस्था भएको उल्लेख गरेका छन । शुभकामना सन्देशमा भनिएको छ–‘विश्वभरी र नेपालका मजदुरहरुका समस्या आफ्नो सारतत्वमा राजनैतिक अधिकार र आर्थिक व्यवस्थापनसंग सम्वन्धित छन् । मजदुरवर्गको समस्या राज्य व्यवस्थाले हल गर्नुपर्ने समस्या हो । विश्वभरिका मजदुरहरुको अवस्थालाई हेर्दा पूँजीवादी विश्व व्यवस्थाले सृजना गरेको समस्याको चपेटामा मजदुरहरु पारिराखेको कुरा निर्विवाद छ । मजदुरहरुको समस्या समाधान र अधिकार स्थापनाको सवाल अव पूँजीवादी व्यवस्थाबाट संभव छैन भन्ने कुरा अकाट्य भएको छ । मजदुरवर्गको अधिकार र समस्या समाधानको निम्ति मजदुरवर्गकै राज्य व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको छ । यसर्थ १३१ औँ विश्व मजदुर दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुरहरुलाई आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति समाजवादी क्रान्तिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’

प्रतिक्रियाहरु