भ्रष्टाचारीलाई जनकारबाहीको घोषणा !

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्यूरोले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने निर्णय गरेको छ। ‘बैठकले सेती महाकालीका स्थानीय निकायमा भइरहेको भ्रष्टाचार, मूल्यवृद्धि, वित्तीय संस्थाको नाममा भइरहेको लुटपाट, एनजिओ र आइएनजिओको अनावश्यक सामाजिक घुसपैठ, सरकारकी कार्यालयहरुको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त विकृति र विसंगती, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै गएको अनियमितता विरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै व्यूरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै बैठकले युद्धकालमा कब्जा गरिएका कैलालीका लालपुर हरैया लगायतका जमिनहरुको लगत संकलन गरी पार्टीको नियन्त्रणमा राख्ने निर्णय गरेको छ। योसँगै उसले भूमाफियालाई कारवाही गर्दै पार्टीका नाममा अनाधिकारिक ढंगले चन्दा उठाउनलेलाई पनि कारवाही गर्ने निर्णय गरेको छ। ब्यूरोको पहिलो बैठकले ८ वटा निर्णय गरेको छ। जसमध्ये एनसेलमाथिको कारवाहीलाई पनि प्राथमिकतामा राखेको छ।
‘राज्यालाई अर्बौको कर नतिर्ने र उपभोक्तालाई ठग्ने एनसेलका विरुद्ध ‘नो ट्याक्स नो एनसेल’ एनसेल बहिस्कार अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ,’ वक्तव्यमा भनिएको छ।
त्यस्तै, सो व्यूरोले संसदीय दलका भ्रष्ट नेता कार्यकर्ता र ‘कमिसनखोर’ कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ। उसले काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारी, चुरे क्षेत्रमा अवैध रुपमा वन फडानी रोक्ने तथा दोषीलाई कारवाही गर्ने निर्णय समेत लिएको छ। साथै प्राकृतिक सम्पदा माथिको दोहन र तस्करीलाई रोक्न अवैध बालुवा गिट्टी उत्खनन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ।
बैठकले कुमार पौडेल लगायतका नेताहरुलाई सरकारले गैर न्यायिक हत्या गरेको भन्दै सरकारविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ। ‘एकातिर कथित वार्ताको हल्ला गर्ने र अर्कोतिर हाम्रा नेता कार्यकर्ताहरुलाई जेल हाल्ने मुठभेडका नाममा इन्काउन्टर गर्ने रणनीतिमा केपी ओली को समाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलालहरुको यो रणनीतिलाई असफल पार्न बैठकले पार्टीले अगाडि सारेको सक्रिय रक्षाको नीतिमा रही काम कारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु