भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरणको पीडा – भीम उपाध्याय

भ्रष्टाचारले राजनीतिक रंग लिन थाल्यो भने बुझे भयो भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरण मात्र हुन पुग्यो । यस्तोमा जनता दिग्भ्रमित र संस्थाहरू किंकर्तव्यबिमूख हुन्छन् । त्यसपछि कुनै संस्थाले त्यहॉ हात घुसारेर ईमानदारीका साथ छानबिन तहकीकात काम गर्ने ऑट गर्न गाह्रो हुन्छ, किनभने त्यो काम गर्दा उसउपर पनि बेफ्वॉकमा राजनीतिक रंग र राजनीतिकरण हुन थाल्छ । मूल मुद्दा ओझेल पर्छ र जनता के रोग लाग्यो भन्दै जिल्ल पर्छन् !
जनताको सेवा सुविधा र खुशीयालीमा जुन प्रणालीले राम्रो गर्छ वा गरेको छ वा गर्यो त्यही राजनीतिक व्यवस्था र प्रणाली राम्रो हो । कुनै प्रणालीको मुल्यांकनको कसी पनि यही हो । राजनीतक कुनै ब्राण्डको औचित्य छैन । जनताले थप सुख सुबिधा पाए कि पाएनन् त्यही सही कसी हो । हामीले धेरै राजनीतिक व्यवस्था भोग्यौं, धेरै संविधान बनायौं, धेरै संविधान च्यात्यौं र फेरि फेरि बनाएका छौं । यो कान्छो संविधान पनि अहिले चुनाव पछि देखिएको घोर अलोकतान्त्रिक संस्कार बोकेका सत्तालोलुप दलीय नेताहरू र निरन्तर गैरजिम्मेवार तथा अक्षम हुदै गएका संवैधानिक अंगका कारण धेरै समय टिक्ने म देख्दिन । लोकतन्त्र चॉडै डिरेल हुदैछ र त्यसका योजनाकार र निमित्त नायक लोकतन्त्रका ब्राण्ड भिरेका सामन्ति संस्कारयुक्त दल र नेताहरूबाट हुने निश्चित छ, जसरी विगतमा पटक पटक तिनबाट विभिन्न हथकण्डा अपनाएर दुर्घटना गराउदै आएको प्रमाणित भएको छ । स्थिरता र विकास संविधानको मर्म अनुरूप शासन हुदा मात्र हुन्छ, कानुनची संस्कार घातक हुन्छ । मुलुकको राजनीतिक भविष्य अन्धकारमय हुने देखिरहेको बेलामा बुद्धिजीवीहरू अघि बढेर राजनीतिलाई ट्र्याकमा ल्याउन हिच्किचाउनु हुदैन । राजनीतिक दलहरूकै भरमा राजनीति हिडाउनु अहिले खतरनाक हुन्छ। नेपालमा नेताहरूको अभिष्ट जहिले पनि सत्तामा कसरी टास्सिरहने भन्ने रहदै हुदै आएको छ ।
राजनीतिकृत भ्रष्टाचार जस्तो जटिल बिषयमा अनुसंधान छानबीन गर्ने कुरा केटौली बुद्धिले संभव हुदैन, भ्याउदैन । नेपालको सांसद र संसद यसका बिज्ञ हुने भएका भए नेपाल उहिले देखि विश्वको स्वच्छ नं १ देश बनेर सिंगापुर, डेनमार्क,स्विट्जरल्याण्ड वा फिनल्याण्डलाई पछारिसकेको हुने थियो ।
जनताको प्रतिनिधित्व गर्ने सर्बोच्च संसद जस्तो थलोमा यता आएर झन् झन् केटौली खेँलाची पारा देखिनु मुलुकको कुनै पनि राज्य संयन्त्रमा जनताको कुनै विश्वास छैन भन्ने लक्षण मात्र हो । जनस्तरमा होहल्लाकै भरमा राष्ट्रसेवकमाथि कार्यकक्ष मैं कालोमोसो दलिनु झन् अराजकता हो, राज्यमाथि थप्पड हो । तत्कल सरकार सक्रिय भएर त्यस्त कुतत्वलाई नियन्त्रणमा लिन नसकी लाचार हुनु, यस्ता घटनाहरू भएको हप्तौंसम्म पनि सरकार रमिते बनेर चुप रहनु महानिरीहपना र निकम्मापन हो, सरकारबिहिनताको जंगली राज हो । यस्ता राज्यको गालामा हानिने सबै घटनाको साईड ईफेक्टको पीडा अन्तत: जनताले नै पाइरहेका हुन्छन् । दु:ख पाउने सर्वसाधारण नै हुन पुग्छन् । कसैप्रतिको दिवेषका कारण अहिले रमिता माने पनि त्यो मूतको न्यानो मात्र हुने गर्छ। युगान्तकारी भनिएको संघीय शासन आईसक्दा पनि सुसभ्य, स्वच्छ समाज निर्माणमा नेपालीजन विफल हुदै गएको कडा संकेत देखिदै छ।
त्यस्तै, अन्तरराष्ट्रिय खरिद वा लगानी वा अन्य व्यापारिक सम्झौता बिना बिचौलिया हुन संभव हुदैन ।पुँजिबादी मुलुकमा ब्यापार गर्ने निकायहरूका आफैले तोकेका रजिस्टर्ड कमिशन एजेन्ट हुन्छन् । कुनै ब्यापार सम्झौता सम्पन्न हुनासाथ तिनले बैध कमिशन रकम पाउछन् । कतिपय देशमा सोल एजेन्ट राखिएको हुन्छ । क्रेता र विक्रेताबीचको लमीको काम गर्ने ती कानुनी बिचौलियाको आम्दानीमा पनि सरकारको कर लाग्छ, शेयर बॉडफॉड हुन्छ । कमिशन एजेन्ट बिना कुनै काम फत्ते गर्न संभव नै हुदैन, ती रियलस्टेट एजेन्सी सरह नैहुन् ।
नेपालसंग हुने बिदेशीव्यापार वा लगानीमा पनि कमिशन एजेन्ट रहेकै हुन्छन्, तिनले कमिशन लिएकै हुन्छन् । तर बिचरा सर्वसाधारण नेपालीहरूलाई बिश्वमा बजार कसरी संचालन हुन्छन् कुनै कखग थाहा भएको हुन्न , ती कमिशनको होहल्ला सुन्नासाथ बुझो न सुझो सुरूवाल सारेर सडकमा उफ्रन मात्र तम्सन्छन् ।
राष्ट्रसेवकलाई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्ने र मुद्दा दायर तथा मुद्दा तहकिकात गर्ने, चलाउने एक मात्र संबैधानिक निकाय अख्तियार मात्र हो। दोषी निर्दोष ठहरको मुद्दा फैसला गर्ने एकमात्र निकाय अदालत मात्र हो । यसबारे अरू चाहे जसले जे होहल्ला गरून्- लेखासमिति, संसद होस् कि जाँचबुझ आयोग, तिनका त यसबारेमा केवल फगत चिच्याहट मात्र हो । जबसम्म यसमा अख्तियारले आफ्नो हात पसाल्दैन, चिच्याहटको तरंग टंगालको अदुअआको कानमा नछिरे सम्म तिनका चिच्याहट र ठस् ठस् कन्याई र होहल्ला मच्चाउन अर्थहीन हुन्छ। विधायकले बनाएको विधि र संवैधानिक शासन प्रकृया यही हो। अरू कुरा अराजकता, उच्छृखंलता र राजनीतिक खपत र दाउपेच मात्र हुन्।
काशी जानू कुतिको बाटो हो!
तपाई कसको कोखबाट जन्मिनु हुन्छ त्यो तपाईको हातमा हुदैन । तर, जन्मेर बढ्दै बुझ्दै जादा तपाईका बाआमा, बाजेबज्यै, दाजुभाइ दिदीबहिनी वा नातागोताहरू भ्रष्ट, ब्यभिचारी, जनतापिराहा हुन् भन्ने जानेपछि तपाईलाई आफूप्रति कति घिक्कार लाग्छ भन्ने नबुझ्ने कोही हुदैनन्। तर राजनीतिमा आफूले समर्थन गरेको दल र ठूला नेताहरू कति भ्रष्ट, कति जनतापिराहा, कति व्यभिचारी, कति मुलुकमारा हो थाहा पाउदापाउदै पनि अलिकति मन नरुने , नसुध्रने र सुधार्न प्रयास नगरी अझै पक्षपोषण र फट्याईगिरी गर्दै धापमार्ने मान्छेहरूको सन्तानले अझै कति थप पीडा भोग्नुपर्ने होला भन्न सकिदैन ! राजनीतिक सम्बद्धतामा कोख फेर्न मिल्ने सहुलियत हुदाहुदै पनि कठै तिनको कर्म देख्दा दया र टीठ लागेर आउछ !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>