भ्रष्टाचारको अभियोगमा दुईसय जना नियन्त्रणमा

२०७४ कार्तिक २४ गते, शुक्रबार

काठमाडौं, २४ कात्तिक । करिब एक दर्जन राजकुमारसमेतलाई पक्रेर भ्रष्टाचारविरुद्धको अभियान तीब्र पारेको साउदी अरबले यही अभियोगमा दुई सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ । पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जानकारी दिएका छन् । तीन वर्षसम्म चलेको अनुसन्धानपछि गएको शनिवार रातदेखि दुई सय एक जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिएका हुन् । जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छन् । पक्राउ गरिएकाविरुद्ध यथेष्ठ प्रमाण जुटाइएको दावी मोजेबको छ ।
यस अभियानबाट मुलुकको आर्थिक गतिविधिमा कुनै फरक नपर्ने अभियुक्तका खाता भने बन्द गरिएको उनले बताए । ३२ वर्षीय युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचार नियन्त्रण कमिटीले निकै तीब्र रुपमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
हिरासतमा लिइएकामा अरबपति व्यापारी राजकुमार अलवलीद बिन तलाल, राजकुमार मितेब बिन अब्दुल्लाह, उनका भाई तुर्की बिन अब्दुल्लाहलगायत रहेको बताइएको छ । मितेब पूर्व राजाका छोरा हुन्, जसलाई शनिवार नै नेशनल गार्ड चीफबाट हटाइएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु