भूकम्पमा मर्नेको संख्या चार सय नाघ्यो

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक। इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या चार सय नाघेको छ । इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पबाट अस्पतालहरुमा पनि क्षति पुगेकाले उपचारमा कठिनाई भएको छ । भूकम्पबाट प्रभावित ७० हजार मानिसलाई तत्काल बासस्थानको आवश्यकता रहेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पपछि दुबै देशका सीमावर्ती क्षेत्रका थुप्रै भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ । इरानमा यस वर्ष लगातार चार पटक ठूला भूकम्प आइसकेका छन् । यसअघि गत मे, अप्रिल र जनवरीमा पनि इरानमा ठूला भूकम्प गइसकेका छन् ।

प्रतिक्रियाहरु