भारतीय प्रधानमन्त्री मोदीसँग अनुरोध – भगवानचन्द्र ज्ञवाली

अपराध वा विवादको शाश्वत चरित्र हुन्छ । अनादिदेखि विवादको समाधानका निमित्त संस्कारगत रूपमा धार्मिक विश्वासका आधारमा तत्सम्बद्ध समाजले विधिविधानको निर्माण गरेको पाइन्छ । ग्रीक विधिशास्त्र, सरिया कानुन हिन्दु विधिशास्त्र आदि त्यसका प्रमाण हुन् । यी सबै समाज वा राष्ट्रका बीच उत्पन्न हुने परस्पर विवाद समाधानार्थ बनाइएका हुन् । इण्डियाको विस्तारवादी नीतिले दक्षिणपूर्व एसियामा अत्यन्त अशान्ति व्याप्त छ र ऊ एक्लिँदै गएको स्पष्ट प्रतीत हुन्छ । इण्डियामा प्रायः वैदिक सनातन धर्मका अनुयायीहरूको आधिक्य रहेको छ । स्वनामधन्य वर्तमान प्रधानमन्त्री मोदीजी पनि आफैँ वैदिक सनातन धर्मका कट्टर अनुयायी मानिन्छन् । उनले पक्कै पनि कौटल्यको अर्थशास्त्र पुस्तक पढेको हुनुपर्छ किनभने उद्योग, परराष्ट्रनीतिका साथै उनको राष्ट्रिय खुफिया एजेन्सी रअले पनि जासुस परिचालनमा त्यसै शास्त्रको अनुसरण गरेको सहजै अनुमान गर्न सकिन्छ । यदि उनी गीताको स्वधर्मे निधनं श्रेयः वचनलाई मान्यता दिन्छन् भने अरुका आस्थामाथि आघात गर्नुभन्दा सम्मान गर्न सकुन् र नेपालसँगको वर्तमान सीमा विवाद समाधानार्थ कौटल्यले व्यक्त गरेका निम्न वचनको पालना गर्न तयार होऊन् भन्ने मेरो आग्रह छ । कौटल्य भन्छन्–
दृष्टदोषः स्वयंवादः स्वपक्षपरपक्षयोः ।
अनुयोगार्जवं हेतुः शपथश्चार्थसाधकः ।५८।
विवादमा वादी र प्रतिवादी दुवै पक्षले आआफ्नो पक्ष सत्य हो भनी दाबी गर्छन् । तर, तिनमा सत्य एउटा पक्ष मात्र हुन्छ । त्यस्तो अवस्थामा सही निर्णय गर्न निम्न कुराहरू आधार हुनसक्छन्– १) दृष्टिदोष अर्थात् जसको अपराध छर्लङ्ग देखिएको छ, २) आफैँ अपराध स्वीकार गर्नु, ३) सरलतापूर्वक जिरह÷तर्क पेस गर्नु, ४) हेतु (कारण वा प्रमाणहरू पेस गर्नु), ५) सपथ वा कसम ख्वाउनु यी चार कुरा तथ्यका साधक हुन्छन् ।
त्यस्तै उनी फेरि भन्छन् ः
पूर्वाेत्तरार्थव्याघाते साक्षिवक्तव्यकारणे ।
चारहस्ताच्च निष्पाते प्रदेष्टव्य पराजयः ।५९।
वादी र प्रतिवादीका परस्पर विपरीत कथनको निर्णय उपर्युक्त आधारमा हुनसकेन भने साक्षीहरूबाट वा विशेष इन्टेलिजेन्सबाट अनुसन्धान गराएर विवादको निर्णय गर्नुपर्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा झण्डै ५० वर्ष अघिका ती क्षत्रका जनताले तिरेको तिरोका रसिदहरू, जनगणनाका कागजातहरू, त्यहाँका जनताको मनोभावना, भौगोलिक नक्साहरू अंग्रेज सरकार (इष्टइण्डिया कम्पनी) सँग आदान भएका कागजपत्रहरू र सन्धि–सम्झौता पत्रहरूले स्पष्ट पुष्टि गरिरहेका छन् । दृष्टिदोष नभएमा मोदीजीले उनले भन्दै आएको नेपालसँगको अनादिदेखिको मित्रतालाई सम्मान गर्दै र ती प्रमाणहरूलाई कदर गर्दै त्यस क्षत्रमा नेपालको आधिपत्य सहजै स्वीकार गरेर आपसी शान्ति मैत्री खलबलिन नदिन आग्रह गर्छु । यदि विवादमै अडिग रहने हो भने कौटल्यका उपर्युक्त सिद्धान्तअनुसार पहिलोे, संसारले स्पष्ट देख्ने गरी उनको दाबी गलत छ, दोस्रो, नेपाल सरकारले उनका उग्र विस्तारवादी व्यवहारप्रति बडो विनम्रतापूर्व विरोध जनाएको छ । तेस्रो नेपाल सरकार लिम्पियाधुरा, लिपुलेकसहित कालापानी नेपालको भएको यथेष्ट प्रमाण पेस गर्न तयार छ र वार्ताद्वारा समस्या समाधान गर्न आग्रह गर्दै छ ।
यदि ती कुरालाई मान्यता दिन तयार नभए कौटल्यले भनेझैं यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी मध्यस्थकर्ता वा साक्षी राखेर अन्तर्राष्ट्रिय विधिविधानका आधारमा विश्वप्रसिद्ध इन्टेलिजेन्सीद्वारा प्रमाणहरूको अध्ययन तथा अनुसन्धान गराई समस्यालाई यथाशीघ्र समाधान गर्न र शत्रुतापूर्ण बाटातिर नडो¥याउन आग्रह छ । यदि कौटल्यका यी विचारको उपेक्षा गर्दै अघि बढ्ने हो मोदीजीको अन्तर्राष्ट्रिय राजनीति धराशयी हुने मात्र होइन उनका कारण अरु अदृष्ट समस्याहरूको उत्पत्ति दक्षिणपूर्व एसियामा हुने निश्चित छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>