भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न संयुक्त राष्ट्र संघ अगाडि प्रदर्शन

२०७६ माघ १ गते, बुधबार

काठमाडौं, १ माघ । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले भारतले नेपालको भू–भाग आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि विरोध प्रदर्शन गरिरहेका छन् । यसैक्रममा अमेरिकामा रहेका नेपालीले पनि राष्ट्रिय संघ मुख्यालय अगाडि विरोध प्रदर्शन गर्नुका साथै ज्ञापन–पत्र बुझाएका छन् ।
भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध अमेरिकामा रहेका नेपालीले अमेरिकाको राष्ट्रिय संघ मुख्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन् । नेपालीहरुले विरोध प्रदर्शन गर्दै ‘प्लिज लिसन युनाइटेड नेसन, स्टप इनक्रसमेन्ट, ब्याक अफ इन्डिया र जय स्वभिमान जस्ता नारा लगाएका थिए । प्रर्दशनमा न्युयोर्क र आसपासका नेपालीहरुको सहभागिता थिायो ।
राष्ट्रिय संघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा भएको विरोध कार्यक्रममा सीमाविद बुद्धिनारायन श्रेष्ठले नेपालको तर्फबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । उनले भने , ‘नेपाल सरकाले पूराना नक्सा दस्ताबेज प्रमाणका आधारमा आफ्ना समकक्षीसँग मित्रतापूर्वक कुरा गर्नुपर्छ । शिर उँचो पारेर, छाती फराकिलो पारेर आँखामा आँखा जुधाएर कुराकानी गर्न सक्नुपर्छ ।’
प्रदर्शनपछि राष्ट्रिय संघका महासचिब एन्टोनियो गुटेर्रेसलाई प्रवक्त मार्फत् ज्ञापन–पत्र समेत बुझाइएको छ । ज्ञापन–पत्रमा भारतीय पक्षले सार्वजनिक गरेका नक्सामा नेपालको भू–भाग समेटिएको भन्दै त्यसलाई सच्याउन सकरात्मक भूमिका खेल्न संघलाई आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु