बैंकबाटै नक्कली नोट प्रवाह !

२०७५ असार २५ गते, सोमबार

काठमाडौँ, २५ असार । राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर शाखाबाट झिकेर एनसीसी बैंकमा जम्मा गर्न लगिएको ५ लाख रुपैयाँमध्ये एक हजार रुपैयाँको एउटा नोट नक्कली फेला परेको छ । चन्द्रसिंह पेलाको नाममा रहेको खाताबाट देवसिंह पेलाले आइतबार निकालेको ५ लाख रुपैयाँमध्ये एनसीसी बैंक महेन्द्रनगर शाखामा जम्मा गर्दा एक हजारको एउटा नक्कली नोट फेला परेको हो । वाणिज्य बैंकबाट ५ लाख रकम झिकेर एनसीसी बैंकमा जम्मा गर्दा बैंकका कर्मचारीले शंका लागेर जाँच गर्दा एक हजारको एउटा नक्कली नोट फेला परेको पीडित योगेश पेलाले बताए । उनले सोबारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई खबर गर्दा आफूहरु त्यसको जिम्मेवार नहुने भन्दै बेवास्ता गरेको आरोप लगाए ।
वाणिज्य बैंक महेन्द्रनगर शाखामा नक्कली नोट छुट्याउने मेसिनसमेत छैन । कर्मचारीले हातले नै सक्कली र नक्कली नोट छुट्याएर ग्राहकलाई भुक्तानी गर्ने गरेका छन् । तर, राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक कर्णदेव जोशीले बैंकबाट कुनै प्रकारको नक्कली नोटको कारोबार नभएको दाबी गरे । यता, एनसीसी बैंक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक संगिता शर्मा चटौतले पछिल्लो सयम बजारमा नक्कली नोटको कारोबार भइरहेको बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु