बेल्जियमस्थित नेपाली राजदूत थापाको अलोकतान्त्रिक हर्कत !

२०७६ मंसिर २३ गते, सोमबार

काठमाडौं, २३ मंसिर । बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापाले भारतीय अतिक्रमणविरुद्धको ज्ञापनपत्र बुझ्न अस्विकार गरेको बताइएको छ । बेल्जियममा बस्ने नेपालीले राजदूत थापाले ज्ञापनपत्र बुझ्न समय दिएर पनि भारतविरुद्ध ज्ञापनपत्र बुझ्दिनँ भनी जारी गरेको सूचना अलोकतान्त्रिक हर्कत भन्दै घोर भत्र्सना गरेका छन् । बेल्जियमस्थित नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेखबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै राजदूत थापाको उक्त कार्यको भत्र्सना गरेका हुन् । गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमाथि भारतले गरेको विविधखाले हस्तक्षेपका विरुद्ध र हालै भारतले नेपाली भूमि समेटेर तयार पारेको नक्सा सच्याउन तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान आह्वान गर्दै बेल्जियमस्थित नेपाली समुदायका तर्फबाट भारतीय दूतावासअगाडि विरोध कार्यक्रम सम्पन्न गरिसकिएको छ । यसरी निरन्तर रूपमा नेपालमाथि भारतीय हस्तक्षेप हुनुको प्रमुख कारण नेपाली सत्ताधारीहरूको आत्मसमर्पणवादी तथा दलाल चरित्र हो भन्ने हाम्रो ठहर छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली भूमि समेटेर भारतले आफ्नो नक्सा प्रकाशन गर्दा र नेपाली भूमिमा भारतीय सेना रहेको राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आवाज उठ्दा पनि नेपाल सरकारले देशको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि ठोस कदम उठाएको पाइएन ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा चुपचाप नबस्न, तत्काल पहलकदमी लिन नेपाल सरकारलाई आह्वान गर्दै बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापामार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नका लागि यही ९ डिसेम्बर २०१९ सोमबार बिहान ११ बजेका लागि समय निर्धारण गरिएको थियो । उक्त समय राजदूत लोकबहादुर थापाले नै निर्धारण गरेका थिए । उक्त ज्ञापनपत्र हस्तान्तरण गर्नका लागि बेल्जियमस्थित सबै नेपाली वैचारिक संस्थाका नेतृत्व तथा प्रतिनिधिको उपस्थितिको निर्धारण भैसकेको थियो । अचानक दूतावासका तर्फबाट भारतीय हस्तक्षेपका विषयमा ज्ञापनपत्र लिन नसकिने तर अन्य विषय भए छलफल गर्न आउनुहोला भन्दै सूचना गरेपछि हामी स्तब्ध बनेका छौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपाल सरकार र मातहतको कूटनीतिक नियोगको यो अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यको हामी घोर भत्र्सना गर्दछौँ । नेपाल सरकारले यो कूटनीतिक काम हो भन्ने तर आफ्नातर्फबाट कुनै पहलकदमी नलिने, भारतीय हस्तक्षेपको विरोध नगर्न जनतालाई आह्वान गर्ने, अन्तर्राष्ट्रियकरण गरे जटिल समस्यामा परिन्छ भन्दै जनतालाई आतङ्कित पार्न खोज्ने र भारतीय हस्तक्षेपको विरोध गर्नेलाई दमन तथा धरपकड गर्ने नेपाल सरकारको रबैयाको हामी कडा शब्दमा निन्दा गर्दछौँ । साथै नेपाली राजदूत लोकबहादुर थापाको अलोकतान्त्रिक कदम र गैरजिम्मेवार कार्यशैलीलाई सच्याउन हामी यसै विज्ञप्तिमार्फत आह्वान गर्दछौँ ।’

प्रतिक्रियाहरु