बेल्जियममा भानु जयन्ती

२०७० असार ३० गते, आईतवार

अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज बेल्जियमले आन्त्वेर्पेन शहरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानबारे चर्चा र कवि गोष्ठीको आयोजना गरी २०० औँ मनाएको छ ।कार्यक्रममा उपन्यासकार पंचम अधिकारीले भाषा-साहित्य भनेको मानव जातिको प्रतिष्ठा हो भन्दै नेपाली साहित्यको विकास हुँदै गर्दा नेपालका अन्य राष्ट्रिय भाषाहरू र जातीय पहिचानको सवाल पनि साथसाथै अघि बढीरहने बताए । त्यस्तै, एन. आर. एन. बेल्जियमका नवनिर्वाचित अध्यक्ष प्रेम गुरुङ्ले साहित्यिक कार्यक्रमहरुलाई अबको एन. आर. एन. टिमले उच्च प्राथमिकतामा राखेर सहयोग र समर्थन गर्ने विश्वास दिलाए ।
कार्यक्रममा पत्रकार डिल्लीराम अंमाईले भानुभक्तको व्यक्तित्वबारे प्रकाश पारेका थिए । अर्का पत्रकार महेन्द्र पौडेलले आदिकविका रचनाहरु प्रकाशन गरेर उनलाई चिनाउन मोतिराम भट्टको ठूलो देन रहेको बताएका थिए ।
सो अवसरमा अनेसास बेल्जियमका कोषाध्यक्ष जे. बि. शेर्पा लगायत कविहरू धिर्कबहादुर मल्ल, राजकुमार पुडासैनी, डिल्ली अंमाई, पंचम अधिकारी, युवराज गुरुङ र रामहरी शास्त्रीले कविता वाचन गरेका थिए भने कवि बिष्णु सापकोटाले पठाएको कविता श्रवण गरिएको थियो ।कार्यक्रमको अन्त्यमा साहित्यअनुरागी ओम शर्माले कार्यक्रमको समिक्षा गर्दै भानुको सम्झना गर्दा भाषाप्रेम बढ्ने बताएका थिए । जयन्ति समारोह अनेसास बेल्जियमका महासचिव राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो भने साहित्यकार रामहरी शास्त्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु