बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य पुन : अलपत्र

काठमाडौं, २१ जेठ । चिनियाँ निर्माण कम्पनी गेजुवा ६ महिना अघिबाटै सम्पर्कविहीन भएकाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कार्य फेरि अलपत्र हुने सम्भावना बढेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ काे बजेटमा यो आयोजना निर्माणका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कुनै प्रतिस्पर्धाविना सरकारले सीधै गेजुवालाई जिम्मा दिएको आयोजनाको हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको छ । तर निर्माणको जिम्मा पाएको कम्पनी नै अहिले सरकारसँग सम्पर्कमा नरहेपछि आयाेजना बन्ने बारे अन्याैल बढेकाे छ ।
विगतमा सरकार फेरिएपिच्छे पटकपटक चलखेलमा परेकाे यो आयोजनालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चिनिया कम्पनीबाट लाइसेन्स खाेसेर स्वदेशी लगानीमा सरकार आफैले निर्माण गर्ने निर्णय गरेकाे थियाे । तर पछि नेकपाको सरकार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विनाप्रतिस्पर्धा गत वर्षकाे असोजमा चिनियाँ कम्पनी गेजुवालाई नै निर्माण गर्न दिने निर्णय गरेको थियो ।
पुष्पकमल दाहाल (प्रचण्ड) को प्रधानमन्त्रीत्वकालको अन्तिमताका यो योजना गेजुवालाई दिने सम्झौता भएको थियो । प्रचण्डपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले सो सम्झौता खारेज गरेका थिए । त्यसबीचमा साे परियाेजना देउवाले भारतलाइ दिने हल्ला समेत चलेकाे थियाे ।
स्वदेशी लगानीमै निर्माण गर्न सकिने सम्भावना हुँदाहुँदै घुमाइफिराइ फेरि चीनलाइ नै दिएकाे भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतले सरकारकाे निर्णयकाे आलाेचना समेत गरेका थिए । तर निर्माण जिम्मा पाएकाे चिनिया कम्पनी नै सम्पर्कविहीन रहेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन् । उनले गएको पुसबाट नै गेजुवासँग कुनै किसिमको सम्पर्क नभएको पुष्टि गरेका हुन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार उपस्थित भएका मन्त्री पुनले विगतको समयमा गेजुवासँग ३ राउण्डमा छलफल गरेको तर त्यसपछि गेजुवा सम्पर्कभन्दा बाहिर रहेको बताए । मन्त्री पुनका अनुसार गएको पुस ४ गते गेजुवाका प्रतिनिधिसँग अन्तिम पटक छलफल भएको थियो । त्यसयता आयाेजनाबारे कुनै छलफल भएकाे छैन ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>