बिभिन्न संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको महाधिवेशन बहिष्कार

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १९ असार । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सो घोषणा गरेका हुन् । संघको वर्तमान पदाधिकारीले आर्थिक अनियमितता गरेको, सबै विश्वविद्यालयलाई प्रतिनिधित्व नगराएको, पब्लिक क्याम्पसको हकमा प्रतिनिधि नमिलेको लगायतका असन्तुष्टि राख्दै उनीहरुले महाधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले संघको महाधिवेशन अवैधानिक भएकोले आफूहरुले बहिष्कार गरेको स्पष्ट पारे । उनले भने , ‘संघ भनेको सबैको साक्षा संस्था हो । तर, महाधिवेशनजस्तो विषयमा सबैलाई सहभागिता गराउन सक्नुभएन । त्यसैले हामीले गम्भिर असन्तुष्टि राख्दै बहिष्कार गर्ने निर्णय गरेका हौं ।’
त्यस्तै, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सह–संयोजक प्रा.डा.रमेशप्रसाद भट्टराईले पब्लिक क्याम्पसमा भएको सहमतिलाई लत्याउँदै आफ्ना व्यक्तिहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाई एकलौटी गरेकोमा गम्भीर असन्तुष्टि जनाए ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले ११ वटै विश्वविद्यालयबाट महाधिवेशनको लागि प्रतिनिधि हुनुपर्नेमा कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिनिधिविहीन बनाएकोमा आपत्ति जनाए ।
राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष डा. उदय किशोर तिवारीले संघले एकलौटी रुपमा अधिवेशन सम्पन्न गरे आफूहरुले त्यसको विरुद्धमा अर्को नेपाल प्राध्यापक संघ चलाउने चेतावनी दिए । आफूहरुलाई जहिल्यैपनि संघले अपहेलना र विभेद गरेको पनि उहाँले गुनासो पोखे । उनले भने , ‘संघले विश्वविद्यालयमा चुनाव गर्दा हामीलाई कहिल्यैपनि थाहा दिएन । विधिवत रुपमा अहिलेको महाधिवेशनमा पाँच वटा संगठनले भाग लिनुपर्ने हो । तर, अहिले एउटा संगठनले मात्रै भाग लिएको छ । यो अवैधानिक छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु