बिपी राजमार्गको दायाँबायाँ १५-१५ मिटर कायम हुने

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ बैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५-१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनको भनाइ थियो । नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१-३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।
त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ । नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उनको भनाइ थियो । नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१-३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो ।
बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको सो क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५-१५ मिटर र सडक सुरक्षाका लागि ६ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा भने नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उनको भनाइ थियो । नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनौँ भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् । यस्तै नगरपालकाले वडा नं २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ । – रासस

प्रतिक्रियाहरु