फ्रान्सले १ लाख आप्रवासी शरणार्थीलाई लिने !

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौं , २५ साउन । फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको चर्काे अभाव भएपछि साे समस्या टार्न आप्रवासी शरणार्थीहरुलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् । आप्रबासी शरणार्थीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल तथा रेष्टुरेन्ट सञ्चालकहरूको रहेको दाबी गरिएकाे छ ।
फ्रान्सको होटेल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले भनेका छन्, “होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस गर्दै आप्रबासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव हामीले गरेका छौँ ।” “कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ । हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ । अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच हाम्रो छ,” उनकाे भनाइ छ । अन्य विकसित मुलुकमा जस्तै फ्रान्समा पनि निम्न आम्दानीस्तरका कामदारका लागि समस्या देखिँदै आएको छ । होटेलको उच्च आम्दानीका आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभए पनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ ।
हेगले भनेका छन्, “हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार गर्न तयार छौँ ।”
फ्रान्सले सन् २०१७ मा एक लाख आप्रवासी शरणार्थी भित्राएको थियो । यो पहिलेका वर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो ।
फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछि मात्र देशभित्र काम गर्न सक्छन तर शरणार्थी दाबीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएपछि नौ महिना पर्खनुपर्ने हुन्छ ।
फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल (कानुनकाे मस्याैदा) गत हप्ता पास गरेको थियो । तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ ।

प्रतिक्रियाहरु