फेसबुके साथीको फन्दामा परेर ५१ लाख गुमाएपछि …

२०७४ फाल्गुन २२ गते, मंगलवार

काठमाडौं, २२ फागुन । कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ? सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ । स्नातक सकेका २५ वर्षीया दुई युवतीले फेसबुके साथीको फन्दामा परेर ५१ लाख रुपैयाँ गुमाएको यो प्रतिनिधि कथाले ‘डिजिटल डिभाइस’ मार्फत ठगीधन्दा बढिरहेको देखाउँछ । त्यस्ता पासोमा पढेलेखेकै व्यक्तिसमेत कसरी फसिरहेका छन् भन्ने पनि बुझाउँछ ।
पर्वत, कुर्घा स्थायी घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका पबी क्षत्री र लक्ष्मीदेवी चपार्इं छिमेकी र सहपाठी थिए । उनीहरू दुवै खुब मिल्थे । करिब दुई महिनाअघि एक दिन पबी बेलायती नागरिक बताउने ब्रायन लुसिया बकार नामको फेसबुक अकाउन्टसँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको संवाद केही दिनमै मित्रतामा बदलियो ।
ब्रायनले एक दिन पबीलाई भने, ‘तिमीलाई उपहारस्वरूप ४४ हजार पाउन्डसहित केही सुन र हीराको हार पठाउँदै छु ।’ यस्तो खबर पाएको केही दिनमै पबीलाई हवाट्स एपमार्फत भारतबाट खबर आयो, ‘तिम्रो साथीले करिब एक करोड मूल्यबराबरको बहुमूल्य उपहार पठाएको छ । भन्सार क्लियरेन्स गर्न केही रकम चाहिने भयो ।’
उपहार आएको विश्वासमा पबीले भारतीय नागरिक बताउने ती व्यक्तिले भनेअनुसार रकम पठाउन थालिन् । तर भन्सारबाट उपहार छुटाउन धेरै पैसा लाग्ने थाहा पाएपछि पबीले साथी लक्ष्मीसँग साझेदारी गरिन्, उपहार ल्याउन दुवै मिलेर रकम खर्चिने र उपहार हात परेपछि बाँडेर लिने। प्रहरीका अनुसार यी दुवैले विभिन्न ९ पटक गरी ५१ लाख रुपैयाँ पठाएका थिए ।
पछिल्लो पटक भारतबाट फोन गर्नेले अब अन्तिम पटक थप ५ लाख भारु पठाइदिए उपहार भन्सारबाट छुटाउन सकिने बताएपछि युवतीहरू आफूहरू ठगिएको निष्कर्षमा पुग्दै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु